Logo
Logo

त्रिशूलीमा खस्यो बसः १७ जनाको मृत्यु, २४ घाइते


819
Shares

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।

गएराति करिब साढे १ बजे ग २ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट–रोराङ गाउँपालिका अन्तर्गत चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । सशस्त्र प्रहरीले हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको जनाएको छ ।

सडकबाट करिब ३ सय मिटर तल खसेको उक्त बसमा दुर्घटनाका बेला कम्तीमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई बगरमा ल्याई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाउने काम भइरहेको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन् । बस अप्ठेरो स्थानमा खसेको र रातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको सुरक्षाकर्मीहरूले बताएका छन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि पुगेको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको अर्को टोली खटिएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्