काठमाडौं । अफगानिस्तान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आईतवार एक्स (ट्विटर) मा पोस्ट गर्दै पाकिस्तानी सेनाले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पुनः हवाई हमला गरेको पुष्टि गरेका छन् ।

यस हमलामा दर्जनौँ नागरिकको ज्यान गएको तथा घाइते भएको उनले बताएका छन् । मुजाहिदकाअनुसार पाकिस्तानी सेनाले नंगरहार र पक्तिका प्रान्तका गरिक क्षेत्रहरूमा बमबारी गरेको थियो । यस क्रममा महिला तथा बालबालिकासहित दर्जनौँको ज्यान गएको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो घटनालाई अफगान क्षेत्रमा भएको स्पष्ट उल्लङ्घन तथा अपराधपूर्ण कार्य भन्दै कडा निन्दा गरेको छ । यो अन्तर्राष्ट्रिय कानुन तथा छिमेकी मित्रताका सिद्धान्तको उल्लङ्घन भएको मन्त्रालयको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, पाकिस्तानले अफगान नागरिक लक्षित तथा धार्मिक स्थलहरूमा आक्रमण गरेको छ । अफगान पक्षले यसको उचित समयमा सावधानीपूर्वक तथा उपयुक्त प्रतिक्रिया दिने छ ।
यसैबीच, पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने पाकिस्तानले सीमा क्षेत्रमा रहेका सातवटा आतङ्कवादी शिविरहरूमा खुफिया जानकारीमा आधारित लक्षित हमला गरेको दाबी गरेको छ । यो हमला हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिक्रियास्वरूप गरिएको बताइएको छ । यी हमलाको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का गुटहरू तथा इस्लामिक स्टेट खोरासान प्रान्त (आईएसकेपी) ले लिएका थिए ।
गत वर्ष अक्टोबरदेखि दुवै देशका सीमा क्षेत्रमा बारम्बार झडपहरू भइरहेका छन् । गत अक्टोबर १९ मा कतार र टर्कीको मध्यस्थतामा दुवै पक्षबीच युद्धविराम भएको थियो । त्यसपछि दोहा, इस्तानबुल र रियादमा भएका वार्ताहरूबाट युद्धविरामलाई दिगो बनाउन सकेनन् । यो घटनाले दुई छिमेकी देशबीचको तनावलाई थप बढाएको छ ।











