सप्तरी । सप्तरीमा नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् । महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको सूर्य अङ्कित झण्डा र फोटोसहितको ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

उक्त भिडियोमा पछाडिबाट उत्तेजित हुँदै पार्टीलाई विभिन्न आरोप लगाउने र अश्लील भाषामा गाली गर्ने व्यक्तिको पहिचान गरी प्रहरीले ३१ वर्षीय हरि नारायण मण्डललाई पक्राउ गरेको हो । घटना गत फागुन ६ गते राति करिब ९ बजे भगवतपुरमा भएको थियो ।
सामाजिक सञ्जालमा फैलिएको भिडियोको आधारमा अनुसन्धान गर्दा मण्डलको संलग्नता देखिएपछि उनलाई खोजतलास गरिएको थियो । प्रहरीले उनलाई फागुन ८ गते बेलुका महादेवा गाउँपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेपछि सोधपुछका क्रममा मण्डलले भिडियोमा बोलिएको स्वर आफ्नै भएको र आफूले नै गालीगलौज गरेको स्वीकार गरेका छन् ।
पक्राउ परेका मण्डलमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय राजविराजबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ ।











