Logo
Logo

गगनलाई रविको कटाक्षः ‘सुध्रिन मन भए पाँच वर्ष प्रतिपक्ष बनेर आउनु’


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्षमा बस्न सुझाव दिएका छन् ।

मंगलबार इटहरीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले थापाप्रति कटाक्ष गर्दै, सुध्रिन वा बदलिन चाहने हो भने पाँच वर्षपछि विकल्पका रूपमा प्रस्तुत हुन आग्रह गरे । उनले आगामी पाँच वर्ष सरकार रास्वपाले चलाउने दाबी पनि गरे ।

लामिछानेले समानुपातिक र प्रत्यक्षतर्फ फरक–फरक चिन्हमा मतदान गर्न भन्दै मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको आरोप लगाए । उनले दुवैतर्फ रास्वपालाई मतदान गरेर बहुमत दिन मतदातासँग आग्रह गरे । साथै, फागुन २१ गते इतिहासमा सुनौलो अक्षरले लेखिने दाबी गरे ।

उनले भने, “यहाँ कसैले तपाईंलाई झुक्याउन सक्छन्—समानुपातिकमा एउटा भोट, प्रत्यक्षमा अर्को भनेर । बहुमतको सरकार बनाउन प्रत्यक्ष र समानुपातिक दुवैतर्फ घण्टीमै मतदान गर्नुहोस् । कुनै दललाई सप्रिन वा सुध्रिन मन छ भने पाँच वर्ष सडकको प्रतिपक्षमा बसेर सप्रिएर आओस् । हामीले खराब गर्‍यौँ भने उनीहरू विकल्प बनेर आऊन् । यसपटक मात्र घण्टी ।”

लामिछानेले रास्वपाले सरकार गठन गरेको १०० दिनभित्र सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूको बचत फिर्ता गर्ने प्रतिबद्धता दोहोर्‍याए । उनले सुकुम्बासी समस्या समाधान गर्ने दाबी गर्दै, यस समस्याको नाममा भोट माग्ने यो अन्तिम निर्वाचन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्