Logo
Logo

विगतका काम देखाएर मत माग्दै वर्षमान, रोल्पामा फरक चुनावी अभ्यास


189
Shares

रोल्पा । नेपालको चुनावी राजनीतिमा प्रायः भविष्यका वाचा, योजना र आकर्षक नाराहरू हाबी हुने गरेका छन् । तर रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले यसपटक फरक शैली अपनाएका छन् । उनले भविष्यका प्रतिबद्धताभन्दा विगतमा सम्पन्न कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका छन् ।

तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका पुनले ‘के गर्ने’ भन्दा ‘के गरियो’ भन्ने बहसलाई केन्द्रमा राखेका छन् । उनका चुनावी सामग्रीहरूमा सडक विस्तार, विद्युत् पहुँच वृद्धि, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, खानेपानी, सिँचाई, विद्युतीकरण, स्थानीय कनेक्टिभिटी विस्तार र संघीय बजेटमार्फत ल्याइएका योजनाहरूलाई तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको छ ।

विशेषगरी भिडियो सामग्रीमार्फत प्रमाणसहित उपलब्धि देखाउने प्रयासलाई रोल्पामा नयाँ अभ्यासका रूपमा हेरिएको छ । उनले ती भिडिओहरुलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन् ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित पुनको भूमिकाबारे विगतमा बहस हुँदै आएको थियो । अर्थ, पूर्वाधार र नीतिगत छलफलमा सक्रिय रहे पनि जिल्लामा ठोस काम नदेखिएको भन्ने आलोचना उनीमाथि सुनिँदै आएको थियो । यसपटक भने उनले त्यही धारणा तोड्ने गरी विकासका काम सार्वजनिक गरेका छन् ।

रोल्पा ऐतिहासिक रूपमा राजनीतिक चेतना र परिवर्तनको केन्द्र मानिन्छ । यहाँ मतदाता अपेक्षाकृत सचेत र परिणाममुखी रहेको विश्लेषकहरू बताउँछन् । यस्तो सन्दर्भमा ‘काम देखाएर मत माग्ने’ अभ्यासले चुनावी विमर्शलाई भावनात्मक नाराबाट तथ्यमा आधारित मूल्यांकनतर्फ मोड्ने संकेत दिएको छ ।

पुनले आफ्नो कार्यकालको मूल्यांकन तथ्यका आधारमा गर्न मतदातासमक्ष आग्रह गरेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई आरोप–प्रत्यारोपभन्दा बाहिर निकालेर उपलब्धि–केन्द्रित बहसतर्फ लैजाने प्रयासका रूपमा बुझिएको छ ।

नेता पुन भन्छन्, ‘जनतालाई अब भविष्यका सपना बाँडेर मात्रै हुँदैन, विगतमा जनप्रतिनिधिको भूमिकाम रहँदा के गरियो भनेर तथ्यगत रुपमा बताउनुपर्दछ भन्ने लागेर नै मैले यो अभियान सुरु गरेको हुँ । यसले नेपाली राजनीतिमा पनि नयाँ परम्पराको विकास हुने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्