Logo
Logo

गगनलाई चुनौतीमाथि चुनौती


5.4k
Shares

काठमाडौं । काँग्रेसको विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा सर्लाहीमा ४ मा झरेपछि सिङ्गो देशको ध्यान केन्द्रित भएको छ । अहिले सर्लाही– ४ मा केन्द्रित भएको अवस्थामा थापा आफ्नो क्षेत्रमा डेरा जमाएर बसेका छन् । क्षेत्रबाट लगातार चुनाव जित्दै आएका अमरेश कुमार सिंह (हाल रास्वपा)को प्रतिस्पर्धामा छन् । तर पनि सिंह भन्दा एमालेका शिवपूजन राय यादव गगन थापाका लागि भारी भइरहेका छन् । शिवपूजनकै छोरा अमनिशकुमार यादव नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेपछि टाउको दुःखलाईको विषय बनेको हो ।

शिवपूजनलाई यो क्षेत्रमा भोट बैक भएका नेताको रुपमा हेरिएको छ  । उनीसँग अहिले पनि १४  हजार मत रहेको बजारमा हल्ला छ । यो क्षेत्रमा २५ हजार आसपासमा जितहारको सम्भावना रहेको बताइन्छ । सलाही ४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, बरहथवा नगरपालिकाको वडा न.ं१–४ र १३–१५, विष्णु गाउँपालिकाको वडा नं. १–४ र बसबरिया गाउँपालिकाको वडा नं.१–३ समेटिएको छ । १ लाख २५ हजार मतदाता रहेको यो क्षेत्रमा गगन थापालाई स्वतन्त्र, जसपा पनि उत्तिकै चुनौती रहेको छ । मधेस प्रदेश सांसद वीरेन्द्र सिंह आफैँ त्यस क्षेत्रबाट २०७४ र २०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पहिलेदेखिकै काँग्रेसको संगठनात्मक भोट र पछिल्लो समय पार्टी प्रवेश गरिसकेका विभिन्न वडाका उम्मेदवारहरूका कारण गगनले जित्ने देखिएको छ ।

बलरा नगरपालिकाका ११ वटा वडामध्ये ६ जना वडाध्यक्ष कांग्रेसले जितेको छ । त्यसैगरी, गोडैता नगरपालिकामा वडा नम्बर ६ र वडा नम्बर ९ गरी २ वटा वडाको वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् । त्यसमा वडा नम्बर १–२ मा माओवादीबाट र ११ मा एमालेबाट चुनाव जितेका वडाध्यक्षहरू कांग्रेस प्रवेश गरिसकेका छन् । त्यसैगरी, बलरा ७ र ८ का वडाध्यक्ष (जसपा)का उम्मेदवार तथा वडा नम्बर ४ मा एमालेबाट प्रतिस्पर्धी रहेका उम्मेदवार कांग्रेस प्रवेश गरेका छन् । 

रामनगर गाउँपालिकामा शिवपूजन यादवका छोरा गाउँपालिका अध्यक्ष भएपनि स्थानीय तहको चुनावमा डा. अमरेश कुमार सिंहको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका राहुल बर्माको नेतृत्वमा थुप्रै कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका छन् ।  क्षेत्रमा विष्णु गाउँपालिकाको ४ वटा, गोडैता नगरपालिकाको १२ वटा, बलरा नगरपालिकाको ११ वटा, रामनगर गाउँपालिकाको ७ वटा, धनकौल गाउँपालिकाको ७ वटा, बसबरिया गाउँपालिकाको ३ वटा र बरहथवा नगरपालिकाको ७ वटा गरी कुल ५१ वटा वडा पर्छन् ।

२०७९ सालको स्थानीय चुनावमा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव कांग्रेसबाट निर्वाचित भएका थिए । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव पूर्व लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट निर्वाचित भएर  हाल जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध छन् । बलरा नगरपालिकाका प्रमुख रामशंकरप्रसाद कुशवाहा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर हाल नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध छन् । रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव पूर्व सांसद शिवपूजन यादवका छोरा हुन् । शिवपूजनकै अर्का छोरा अमनिशकुमार यादव नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह नेपाली कांग्रेसबाट जितेका हुन् । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय जसपामा आबद्ध छन् ।

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी मनोनयन दर्ता गराएका डा. अमरेश कुमार सिंह भने यसपटक मधेशका छोरा बालेनको नेतृत्वमा सरकार बनाउने कुरा भएकाले आफ्नो जीत सुनिश्चित रहेको बताउँदै हिँडेका छन् । सिंहले २०७० (संविधानसभा), २०७४ र २०७९ मा लगातार तीनपटक चुनाव जितिसकेका छन् ।

२०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेको भएपनि २०७९ मा काँग्रेसको बागी उम्मेदवारको रूपमा स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव जितेका थिए ।  २०७९ मा सिंहले २० हजार १७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३, शिवपूजन यादवकी छोरी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन । २०७९ मा स्वतन्त्र उठेर जितेको अवस्थामा यसपटक त रास्वपा पार्टी र त्यसको संगठन सबै आफ्नो पक्षमा रहेकाले चुनाव जित्नेमा सिंह ढुक्क रहेका छन् ।

सर्लाही–४ लाई काँग्रेसको परम्परागत गढ मानिन्छ । २०४८ देखि २०५६ सम्म भएका तीन निर्वाचन जितेका महन्थ ठाकुरले नेपाली कांग्रेस छाडेसँगै यो क्षेत्रमा अमरेशकुमार लड्दै आएका थिए ।

गगनको परीक्षा
काँग्रेस सभापति थापाले उम्मेदवारी दिएपछि सर्लाही–४ चुनावी मैदानका प्रमुख ‘हटस्पट’ बन्यो । अघिल्ला तीन निर्वाचनमा थापाले काठमाडौं–४ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । थापाको यसपालिको उम्मेदवारीलाई उपसभापति विश्वप्रकाश शर्मा समग्र मधेसप्रतिको सम्मानका रूपमा अर्थ्याएर थप यसलाई महत्त्व दिएका छन् । उनले थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमिति बैठकमा भनेका थिए, ‘मधेशबाट उम्मेदवार बनाउनु भनेको एकातर्फ मधेस र मधेशका मतदाताप्रति नेपाली कांग्रेसले सम्मान प्रकट गरेको हो, अर्कातर्फ मधेशको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिङ्गो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि हो ।’

सभापति थापालाई सर्लाही–४ बाट उम्मेदवार बनाएर कांग्रेसभित्र तरंग मात्र पैदा भएको छैन मुलुकको ध्यान नै तानिदिएको छ । विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्न पुगेका थापाका लागि यो निर्वाचन उनको पछिल्लो राजनीतिक कदम र रणनीतिको कडा परीक्षा हुनेछ । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेको सन्दर्भमा, सर्लाही–४ को यो जटिल चुनावी गणित र त्यसबाट आउने नतिजाले नै उनको आगामी राजनीतिक भविष्य र उचाइ तय गर्ने देखिन्छ । यसले कांग्रेस मात्र होइन मुलुकमा स्थापित राजनीतिक दलको नेतृत्वको पुस्तान्तरणमा समेत ठूलो प्रभाव पार्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्