Logo
Logo

रौतहटको चुनावी रणमैदानः माधव नेपालले जोगाउलान् साख ?


315
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा रहेका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि रौतहटको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री नेपाल र कांग्रेसका अनिल झाबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । एमालेका अजय गुप्ता, जसपाका योगेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी पनि प्रतिस्पर्धामा रहेका छन् ।

१ लाख ८ हजार ७२६ मतदाता रहेको यो क्षेत्रमा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिका–१ तथा गढीमाई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा समेटिएको छ । यो क्षेत्रमा शहरी–ग्रामीण मिश्रित मतदाता छन् । पुराना पार्टीको भोट रास्वपाले काट्ने देखिएको छ ।

१३२ मतदान केन्द्र रहेको यस क्षेत्रमा राजदेवी र गौर नगरपालिकामा मतदाता संख्या बढी छ भने यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा ग्रामीण मतदाताको प्रभाव चुनावमा निर्णायक हुने गरेको छ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा १८ राजनीतिक दल र २१ स्वतन्त्र गरी ३९ उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, भेटघाटमा व्यस्त छन् ।

नेकपाका सहसंयोजक रहेका नेपाल आफै पनि पटक पटक जन अदालतको परीक्षणमा पास भएको बताउने गर्छन् ।
स्थानीय तहमा नेकपाको उपस्थिति राम्रो भएको र रौतहटका लागि विकास निर्माणको काम गरेकाले नतिजा आफ्नो पक्षमा आउनेमा नेपाल ढुक्क देखिन्छन् । जुद्ध माध्यमिक विद्यालयको छात्रावास तथा बाग्मती नदीको पुल, लालबकैया नदी टिकुलियाको पुल वर्षौदेखि यी सबै बन्ने प्रकृयमा छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता रिझाउन ठुलाठुला आश्वासन दिन थालेका छन् । रौतहटमा पुराना दलका नेताहरूले आश्वासन मात्र दिएका छैनन्, विगतमा गरेको कामको फेहरिस्त पनि लिएर नयाँ मतदाता रिझाउन कसरत गरिरहेका बेला नेपाल स्वयं ती एजेन्डाहरू लिएर जनताको माझमा पुगिरहेका छन् । ‘केही गरेनन् भन्ने भाष्य चिर्नु आवश्यक छ’ चुनावी क्षेत्रमा भेटिएका नेपालले दृष्टि प्रतिनिधिसँग भने ।

सडक र बिजुलीका साथै शिक्षा र स्वास्थ्यका नारा पुराना भइसके । स्थानीय सरकारले जताततै ढलान सडक निकालेको तथा प्रदेश र संघ सरकारले सडक र बिजुलीमा पर्याप्त लगानी गरेसँगै मतदाता रिझाउन उम्मेदवारहरूले आश्वासन दिन थालेका छन् । उनीहरूले केही नयाँ आश्वासन लिएर आएका छन् । विगतको तुलनामा अहिले रौतहटमा नयाँ मतदाता बढेका छन् । पुराना दलहरूले दिने आश्वासनभन्दा नयाँ मतदाताले नयाँ सपना खोजिरहेका छन् ।

रौतहट क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री नेपालले पुलहरू निर्माण गरेको तथा राइस मिलको जमिन अधिग्रहणको निर्णय गरिसकेको अवस्थामा जनताको चाहनाअनुसार विकास र निर्माणका योजना अगाडि बढाउने बताइरहेका छन् । नेता नेपालले कुनै ठोस योजनाको प्रतिबद्धता गर्नुभन्दा विगतमा जस्तै जनताका चाहनाअनुसार जस्तोसुकै योजना पनि निर्माण गर्ने बताइरहेका छन् ।

गौर शहरमा नेपालबाहेक नेपाली कांग्रेसका उम्मेदवार झाको पक्षमा पनि केही मत आउनसक्ने कतिपयको आकलन छ । ‘यस क्षेत्रमा कांग्रेसको संगठन बलियो नै छ । कांग्रेसकै भोट पाएर २०७९ सालमा माधव नेपाल जित्न सफल भएका थिए ।’ अहिले कांग्रेस विभाजित छ । कांग्रेसका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव झासँग खुसी छैनन् । उनी आफै दाबेदार थिए । तर, झालाई पार्टी प्रवेश गराएर टिकट दिएपछि कांग्रेसभित्र चरम असन्तुष्टि छ । त्यसका कारण झाको सम्भावना कमजोर रहेको विश्लेषण गरिएको छ ।

अनिल झाले अचानक पार्टी प्रवेश गरेर टिकट लिएपछि कांग्रेसमा टिकटका आकांक्षी राजेश्वर यादव रास्वपातिर लागेका छन् । नेपालका लागि कांग्रेसका झासँगै एमालेका अजयकुमार गुप्ता, जनता समाजवादी पार्टी नेपालका योगेन्द्र यादव र रास्वपाका राजेश चौधरी चुनौती बनेका छन् ।

जानकारहरूका अनुसार रौतहट–१ मा जातीय प्रभाव रहेको भए पनि व्यक्ति र कामको मूल्याङ्कनले मतदाता निर्णयमा ठूलो भूमिका खेल्ने देखिन्छ । नेपालले आफ्नो निर्वाचन क्षेत्रको विकासमा सकारात्मक कदम चाल्दै आएका भए पनि गर्नुपर्ने जति नभएको मतदाताको गुनासो छ ।

नेपालले डुबान समस्या, शिक्षा, स्वास्थ्य, सडक, पुल र गौर–रौतहट जोड्ने सडक सुधारमा पहल गरेको दाबी गरिरहेपनि आफैँ प्रधानमन्त्री हुँदा शिलान्यास गरिएका केही योजना अलपत्र छन् । त्यसको उदाहरण हो– बडहर्वा पुल । जिल्लाको मानव विकास सूचकांक र साक्षरता दरमा रौतहट मधेस प्रदेशकै पछाडि छ । गरिबी दर अझै ३२.३३ प्रतिशत रहेको छ ।


नेपाल–भारत सीमामा क्षेत्रमा रौतहट रहेको छ । यो जिल्लामा क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धा र पुरानै आश्वासन रहेका छन् । क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै मुख्य प्रतिस्पर्धा रहेको छ । दुवै उम्मेदवार मतदातामा परिचित छन् । रौतहट क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी पुनम यादवले निर्वाचित भएसँगै मेडिकल कलेज र क्यान्सर अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने आश्वासन दिएकी छिन् ।

कांग्रेसका रामकृपाल यादव, नेकपा एमालेका कुन्दन कुशवाहा तथा रास्वपाका धिरज पटेलले पुरानै किसिमले विकास र सुशासनको नारा दिइरहेका छन् । चार पटक चुनाव जितिसकेका प्रभु साहले भने अहिलेसम्म घरदैलो अभियान सुरु गरेका छैनन् । आम जनता पार्टीका साह देशका विभिन्न भागमा आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनाउन लागिपरेका छन् ।

रौतहट १ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा १ र गढीमाई नगरपालिकाको ६–८ वडा रहेका छन् ।

०७४ मा काठमाडौं–२ बाट निर्वाचित हुँदा नेपाल रौतहट बाट भने ०५६, ०६४, ०७० र २०७९ मा चुनाव लडेका हुन् । उनी चुनाव हार्दा पनि संसद् पुगे प्रधानमन्त्री बने । २०६४ मा एमालेको गढ मानिएको क्षेत्रमै तत्कालीन नेकपा माओवादीका देवेन्द्र पटेल र काठमाडौं–२ मा झक्कु सुवेदीसँग पराजित भएका थिए । दुवै क्षेत्रबाट पराजित नेपाल पछि २०६६ मा राष्ट्रपतिबाट संसदमा मनोनीत भएका थिए । उनी प्रधानमन्त्री भए ।

प्रतिक्रिया दिनुहोस्