काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपा झापा ५ का उम्मेदवार रञ्जित तामाङले कसैसँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन् । सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै आफूले पार्टी नेतृत्वसँग सो विषयमा कुराकानी गरेको बताएका हुन् ।

सामाजिक फेसबुकमा भिडियो शन्देश जारी गर्दै उनले भने, ‘कहिले टिकट प्राप्त गर्दैन, कहिले अलायन्स हुन्छ, कहिले कसलाई छोड्छ, कहिले कसलाई छोड्छ भन्ने अनेकौँ आरोहरअवरोह र अनुमानहरूलाई गलत साबित गर्दै म तपाईँहरूसँग सार्वजनिक बहस हुँदै मतदाताहरूको घरदैलोसम्म आइपुगेको छु। कुनै पनि हिसाबमा हाम्रो पार्टीको नेतृत्वले र कुनै पनि मूल्यमा अहिले कोहीसँग हाम्रो अलायन्स हुने स्थिति छैन। र घोषित-अघोषित त्यस्तो कुनै छलफल चलेको छैन ।’
उनले फागुन २१ गते पछाडि बन्ने संसद्मा कसैको बहुमत नआए त्यसबखत को सँग मिल्ने भन्ने कुरा छुट्टै रहेको बताए । उनले भने, ‘आजको दिनमा हाम्रो कोहीसँग अलायन्स हुँदैन। कोही भ्रमित नहुनु । सबै भ्रमका पर्दाहरू च्याते मलाई मत दिनुहोस् ।’
उनले गत सार्वजनिक बहसमा आफूले उठाएको किसान, भूमिहीन सुकुम्वासी, शिक्षा, स्वास्थ्य, रोजगार, युवालगायतको मुद्दामा अगाडि बढेको बताए ।
तामाङको यहाँ एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रतिस्पर्धा हुँदै छ । दुवै दलको प्रस्तावित प्रधानमन्त्री एउटै क्षेत्रबाट उठेपछि झापा ५ चर्चामा छ । पछिल्लो समय बालेनको पक्षमा लहर आएको भन्दै एमाले अध्यक्ष ओलीलाई जिताउन नेकपासँग तालमेलको चर्चा चलेपछि तामाङले आज प्रष्टीकरण दिएका हुन् ।











