विराटनगर । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूको फोटो अङ्कित टी-सर्ट र भेष्ट जफत गरेको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कोशी प्रदेशको राजधानी विराटनगरबाट प्रहरीले १ हजार ५ सय थान टी-सर्ट र भेष्ट जफत गरेको छ । निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्रै बाँकी रहँदा बजारमा खुला रूपमा बिक्रीका लागि राखिएका राजनीतिक सन्देश तथा नेताहरूको तस्बिर अङ्कित सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जफत गरिएका अधिकांश सामग्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को संयुक्त तस्बिर छापिएको थियो । केही टी-सर्टमा उनीहरूको नामसँगै राजनीतिक सन्देश पनि लेखिएको थियो । बजारमा खुला रूपमा बिक्रीका लागि राखिएका राजनीतिक सन्देश र नेताहरूको तस्बिर अङ्कित टी-सर्ट तथा भेष्टहरूमा प्रहरीले निगरानी बढाएको छ । होली पर्वको पूर्वसन्ध्यामा युवापुस्तालाई लक्षित गर्दै बजारमा ल्याइएका ती सामग्री निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री बन्न सक्ने प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार पसलको अगाडि प्रदर्शनका लागि राखिएका मात्र नभई गोदाममा भण्डारण गरिएका सामग्रीसमेत बरामद गरिएको हो । होलीको पहिलो दिन फागुन १८ गतेदेखि मौन अवधि लागू हुने र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको छ ।
निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै पनि प्रकारको प्रचार सामग्री उत्पादन, प्रदर्शन, वितरण वा बिक्री गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै प्रहरीले उक्त टी-सर्ट र भेष्टहरू बरामद गरेको हो । व्यापारीले होली लक्षित डिजाइनका रूपमा सामग्री बिक्री गरेको दाबी गरे पनि मौन अवधि नजिकिएकाले मतदातामाथि प्रभाव पार्न सक्ने निष्कर्षसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ
आगामी दिनमा त्यस्ता सामग्री आयात एवं बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जफत गरिएका सामग्री कहाँ उत्पादन भएका हुन् र कसले आपूर्ति गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।











