Logo
Logo

रवि लामिछाने : लोकप्रियताको शिखरदेखि अदालती कठघरासम्म


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो । लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा त्यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।

लामिछाने समकालीन नेपाली राजनीतिका सबैभन्दा चर्चित र विवादित पात्रमध्ये एक हुन् । वि.सं. २०३२ साल भदौ २१ गते काठमाडौंमा जन्मिएका उनको परिचय सञ्चारकर्मी र राजनीतिज्ञ दुवै रूपमा स्थापित छ ।

लामो समय अमेरिकामा सञ्चार क्षेत्रमै कार्यरत लामिछानेले सन् २०१३ मा न्यूज २४ टेलिभिजनमा निरन्तर ६२ घण्टा १२ मिनेट लामो अन्तर्वार्ता लिएर गिनिज वल्र्ड रेकर्ड कायम गरेपछि उनी पहिलोपटक चर्चामा आएका थिए ।

त्यसपछि सोही टेलिभिजनबाट सुरु भएको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले उनलाई नेपाली घरघरमा पु¥यायो । उक्त कार्यक्रममार्फत उनले भ्रष्टाचार, वैदेशिक रोजगारीका ठगी र प्रशासनिक ढिलासुस्तीका विरुद्ध आक्रामक शैलीमा आवाज उठाए । पीडितलाई न्याय दिलाउने उनको ‘पपुलिस्ट’ शैलीले लामिछानेलाई छोटो समयमै ठूलो जनलहर र लोकप्रियता दिलायो ।

सन् २०२२ मा पत्रकारिताको सक्रिय यात्रालाई पूर्णविराम लगाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरे । ‘जान्नेलाई छान्ने’ भन्ने नाराका साथ राजनीतिमा होमिएका उनले पुराना स्थापित दलहरूप्रति असन्तुष्ट युवा पुस्तालाई आकर्षित गरे ।

सोही वर्षको आम निर्वाचनमा उनको पार्टीले अप्रत्याशित सफलता पायो र उनी चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भए । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई पटकसम्म उपप्रधान तथा गृहमन्त्री बने । यद्यपि, उनको सत्ता यात्रा सत्ताको लुछाचुडी र पदको मोहका कारण आलोचित समेत बन्यो ।

लामिछानेलाई सफलतासँगै विवादहरूले पनि कहिल्यै छोडेनन् । विशेषगरी अमेरिकी नागरिकता त्याग नगरी नेपाली राहदानी लिएको विषय (नागरिकता विवाद) ले उनलाई सर्वोच्च अदालतसम्म पु¥यायो, जसका कारण उनले एकपटक सांसद र मन्त्री पद गुमाउनु परेको थियो ।

हाल उनी विभिन्न सहकारीको बचत रकम अपचलन र ठगी प्रकरणमा मुछिएका छन् । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीको पैसा गैरकानुनी रूपमा ल्याएको आरोपमा उनीमाथि अहिले कानुनी छानबिन र पक्राउको प्रक्रिया चलिरहेको छ । यसरी लोकप्रियता र विवादको दोभानमा रहेका लामिछाने नेपाली राजनीतिमा एक आशा र आशंका दुवै जगाउने पात्रका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्