Logo
Logo

नारी दिवस : उत्सव कि आत्मसमीक्षा ?


रेजिना पाण्डे

756
Shares

आज नेपालमा धेरै नारी चुलो–चौकोबाट बाहिर निस्केर हरेक क्षेत्रमा आफ्नो कुशलता प्रदर्शन गरिरहेका छन् । राजनीति, स्वास्थ्य, शिक्षा, उद्योग–व्यवसाय, प्रशासन, खेलकुद, सिनेमा, पत्रकारिता र सञ्चार माध्यम जताततै नेपाली महिलाको उपस्थिति सशक्त बन्दै गएको छ । जमिनमा सवारी साधन चलाउनेदेखि आकाशमा जहाज उडाउनसम्म, सुरक्षा निकायमा जिम्मेवारी सम्हाल्नेदेखि ठूला संस्थाको नेतृत्व गर्नेसम्म नारीले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् ।

आज कसैले सहजै भन्न सक्दैन ‘नेपाली नारी कमजोर छ’ भनेर । आधा आकाश ढाक्ने नारीले संख्या मात्र होइन, नाम र सम्मान कमाएर अलग पहिचान बनाएका छन् । धेरै महिलाले देशभित्रै मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको नाम चिनाएका छन् ।

तर, यथार्थको अर्को पाटो डरलाग्दो छ । महिलाले यति ठूलो प्रगति गरिरहँदा पनि नेपालमै महिला हिंसा बढ्दो क्रममा छ । सुन्दा र हेर्दा नै भय लाग्ने यौन हिंसा, घरेलु हिंसा, मानसिक र सामाजिक हिंसाका घटनाले समाजलाई स्तब्ध बनाइरहेका छन् । घटना घट्नु मात्रै होइन, दिनप्रतिदिन ती बढ्दै जानु झनै चिन्ताजनक छ ।

अझै पनि कैयौँ नेपाली महिला आफ्नो आधारभूत हक र अधिकारबाट वञ्चित छन् । नारी सुरक्षित हुनुपर्छ भन्ने आवाज वर्षौंदेखि उठ्दै आएको छ, तर हिंसाका पुराना स्वरूप अन्त्य हुन सकेका छैनन् । हरेक वर्ष नारी दिवस मनाइन्छ, महिला अधिकारका पक्षमा भाषण गरिन्छ, तर व्यवहारमा परिवर्तन देखिँदैन ।

महिला हिंसाविरुद्ध अभियान चल्छन्, केही समय चर्चा हुन्छ, अनि विस्तारै सेलाउँछन् । सरकारी तहबाट बनेका नीति नियम र कार्यक्रमले अपेक्षित सुधार ल्याउन सकेका छैनन् । व्यक्ति वा संस्थाको प्रयास पनि कहिलेकाहीँ पानीको फोका झैँ क्षणिक बनेका छन् ।

नारीमाथि गाली–लाञ्छना, यौन दुव्र्यवहार, दाइजो प्रथा, बालविवाह, महिला बेचबिखन, घरेलु हिंसा यी सबै समस्या नेपालमै जरा गाडेर बसेका छन् । हामी २१औँ शताब्दीको आधुनिक युगमा छौँ, तर महिलालाई हेर्ने दृष्टिकोण धेरै हदसम्म पुरानै छ । समय बदलिएको छ, तर सोच परिवर्तन हुन नसक्दा समस्या दोहोरिइरहेका छन् ।

नेपालमा घटेका केही जघन्य घटनाले समाजलाई गहिरो चोट पु¥याएका छन् । निमर्ला पन्त र भगिरथी भट्ट जस्ता घटनाले महिला सुरक्षाको प्रश्नलाई गम्भीर रूपमा उठाएका थिए । यस्ता घटनाले न्याय प्रणाली, सामाजिक चेतना र राज्यको उत्तरदायित्वबारे अनेक प्रश्न खडा गरेका छन् ।

हामी महिला सशक्तीकरणका कुरा गर्छौँ, छोरी–चेलीलाई देवीको रूपमा पूजा गर्छौँ, नारी दिवस भव्य रूपमा मनाउँछौँ । तर अर्कोतिर आफ्नै घरभित्र हुने हिंसा रोक्न असफल छौँ । बाबु, दाजुभाइ, श्रीमान् वा आफन्तबाटै हुने दुव्र्यवहारले समाजको नैतिक आधार कति कमजोर छ भन्ने देखाउँछ ।

अपराध गर्नेले उमेर, सम्बन्ध र मर्यादा हेर्दैन । लोभ–लालच, शक्ति वा डर देखाएर महिलाको अस्मिता लुट्ने प्रवृत्ति अझै समाप्त भएको छैन । शिक्षित र सहरिया समाज समेत यसबाट मुक्त छैन ।

समाज परिवर्तन र आधुनिकताको चर्चा धेरै हुन्छ, तर महिलाप्रति सम्मानपूर्ण व्यवहार व्यवहारमै देखिनुपर्छ । महिलाले जति सहन्छिन्, हिंसा त्यति नै बढ्छ । त्यसैले अब मौन बस्ने होइन, अन्यायविरुद्ध संगठित रूपमा उभिनुपर्ने समय आएको छ ।

हिंसामा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय नदिँदा अपराधीको मनोबल बढ्ने गर्छ । न्याय प्रक्रिया प्रभावकारी र पीडितमैत्री नहुँदा धेरै महिला उजुरी दिन पनि डराउँछन् । त्यसैले कानुनी व्यवस्था कडा बनाउनुका साथै कार्यान्वयनमा दृढता आवश्यक छ ।

तसर्थ, समाजका सबै पक्ष सचेत हुनुपर्छ । शंका वा हिंसाको संकेत देखिएलगत्तै प्रतिक्रिया जनाउने, पीडितलाई साथ दिने, अपराधीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने र महिला–मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो ।

नारी दिवस केवल औपचारिक कार्यक्रम वा सम्मानमा सीमित हुनु हुँदैन । यो दिन आत्मसमीक्षा गर्ने, कमजोरी स्वीकार गर्ने र परिवर्तनको प्रतिबद्धता व्यक्त गर्ने अवसर हुनुपर्छ ।

नेपाली नारीले क्षमता प्रमाणित गरिसकेकी छन् । अब राज्य र समाजले उनीहरूलाई सुरक्षित, सम्मानित र समान अवसरयुक्त वातावरण दिन सक्नुपर्छ । नत्र नारी दिवसको उत्सव केवल शब्दमा सीमित हुनेछ, व्यवहारमा होइन ।

प्रतिक्रिया दिनुहोस्