धनमती

बादलका चोक्टा ओहोर दोहोर गर्छन्
घामको प्रकाश छेलिएको छ
आकाश रिसाएर
धरती शिथिल छ
रिसाएको आकाशको गीत लेखौंला
शिथिल धरतीको कविता लेखौंला ।
रहरका फूलहरु फूलाएर
धनमती विछट्टै रमाएकी छ
उसको खसम रघुनाथ
दश वर्षको वैदेशिक रोजगारी बाट
हिजो मात्रै घर फर्किएको छ
धनमती, छोरा छोरी र बुढी आमाका सपनाहरु
पूरा भए या भएनन्
रघुनाथलाई थाहा हुनु पर्ने ।
रघुनाथको अनुहारमा खुशीका रेखा देखिदैनन
झोक्रिएको शिर बोकी
मौन बस्छ उ ।
धनमतीको खुशी चुँडिएर जान्छ
छोरा छोरी पाठशाला जान नपाएर
रुवा बासी मच्चाउँछन्
बुढी आमा आँखाबाट आँसु झार्छिन्
सपनाहरु तुहिए पछि ।
धनमती !
तिम्रो शिर फूल लाउने चाहना
छोरा छोरीको राम्रो लाउने, मिठो खाने सपना
बुढी आमाको खसमको नाममा फलैचा हाल्ने तिर्सना
एका देशको
दन्ते कथा जस्तो भएको छ
रघुनाथ रित्तो हात घर फर्किए पछि ।
धनमती !
तिमीले आफ्नै माटो खोस्रनु पर्छ
पसिनाको धारा बगाएर
तिम्रा हातहरु
सृजनाका प्रतीक हुन
आकाश तिम्रो हो
धरती तिम्रो हो
तिमीले
सृजनाका गीत रोप्नु पर्छ ।
रघुनाथको मन घायल छ
आत्मग्लानीको नमिठो फल चपाउँदै
निर्धनताको कुम्लो बोकी
पुनः उ सुदूर यात्रामा निस्किएको छ ।
धनमती !
घर व्यवहार तिमीले धान्नु छ
छोरा छोरीको मनोकाङ्क्षा कसरी पूरा गर्ने ?
बुढी सासूको सपना पनि त पूरा गर्नै छ
रघुनाथ कहिले फर्कने हो ?
कुनै टुङ्गो छैन
तिम्रो जीवनमा खुशीयाली छाउन सकेन
तिम्रो दुःख जिउलो देखेर
धरती रोइ रहेछ ।
प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५
[email protected]











