काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

रास्वपाले आयोजना गरेको सांसदहरूको अभिमुखिकरण कार्यक्रममा उनले जनताले अत्यधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताए । रास्वपाप्रति जनतामा अत्यधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उनको भनाइ रहेको छ ।उनले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताउँदै त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको बताए ।
अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टिलाई नभएको बताउँदै उनले भने, ‘यो जनादेशलाई असाध्यै गह्रौँ बैधता हामीले लिएका छौँ । यसलाई समालेर, जोगाएर यो आशा, भरोसालाई न्याय गर्ने त्यो ऐतिहासिक जिम्मेवारीबोध हामी सबैमा हुनुपर्छ । २०४८ सालमा स्पष्ट नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याएको थियो, आर्थिक सुधारका नीतिहरू पनि राम्रा थिए तर आन्तरिक खिचातानी व्यवस्थापन गर्न नसक्दा पुर्ण ५ वर्ष कार्यकाल टिक्न सकेन । द्वन्द्वलाई व्यवस्थाप गर्दै २०६४ सालमा पनि अर्को यस्तै जनादेश पाएको अर्को सरकार आयो तर माओवादीले ९ महिना पनि सरकार टिकाउन सकेन । २०७४ मा एमाले र माओवादी मिलेर स्पष्ट बहुमत थियो, त्यो पनि लामो समय टिक्न सकेन । तीन वर्षपछि त्यो बिग्रियो । त्यसकारण हामीलाई जुन जनादेश आएको छ, स्कोपको हिसाबले, म्याण्डेडका हिसाबले नेपालमा नै अभुतपुर्व यो हो । यसलाई जोगाउन उहाँहरूबाट हामीले पाठ सिक्नुपर्छ ।’
उनले नवनिर्वाचित सांसदहरूलाई जिम्मेवारका साथ प्रस्तुत हुन पनि सुझाव दिए । उनले पारदर्शी जीवनशैली अपनाउन, जथाभाबी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गरे । उनले कानुन तथा नेपालको संविधानलाई गहिरोसँग अध्ययन गर्न पनि सांसदहरूलाई सुझाव दिए ।











