
प्रधानमन्त्री सुशीला कार्कीलाई समेत फनफनी घुमाउन सक्ने सचिवहरू प्रधानमन्त्री कार्यालयमा रहेछन् भन्ने कुरा कार्कीकै मुखबाट चुहिएको छ । लामो समयसम्म न्यायालयको जिम्मेवारी सम्हाल्दै प्रधानन्यायाधीशसम्म बनेकी कार्कीले न्यायालयमा आफ्नै किसिमको तितोमिठो अनुभव संगालिन् भने प्रधानमन्त्री बनेपछि चुनौतीको पहाड चढिन् । त्यसक्रममा उनले सचिवहरूबाट चाहे अनुसारको सहयोग पाउन सकिनन् । यो पीडा उनले सार्वजनिक रूपमै व्यक्त गरेकी छिन् ।
‘आफू ताक्छु मुढा, बन्चरो ताक्छ घुँडा’भनेझैँ उनले एउटा भन्ने कर्मचारीले अर्कै गर्ने भएपछि प्रधानमन्त्रीजस्तो व्यक्ति रनभुल्लमा पर्नु स्वाभाविकै हो । यस घटनाले निजामती सेवाका कर्मचारीहरू कतिसम्म ‘नालायक’ छन् भन्ने कुरा उजागर गर्छ । बहुदलीय व्यवस्था आएदेखि निजामती सेवाका कर्मचारीहरू जनताका सेवक होइन, मालिकजस्ता बनेका छन् । मानौँ ६÷६ महिनामा फेरिने प्रधानमन्त्री, मन्त्रीहरू दुई दिनको ‘अस्थायी पाहुना’ हुन्, उनीहरू ३०÷३५ वर्षका अनुभवी ‘स्थायी शासक’ हुन् । यो ३५ वर्षदेखि कर्मचारीहरूको मानसिकतामा गढेको प्रवृत्ति हो ।
यो गलत प्रवृत्तिलाई चिर्न नसक्दा ३५ वर्षमा ३० वटा सरकार बन्यो, ढल्यो । जसमा १४ जना त प्रधानमन्त्री नै बने । यो राजनीतिक अस्थिरतामा रमाउने खाने तिनै निजामती सेवाका कर्मचारीहरू पर्छन् । जसले लोकसेवाबाट एक पटक जाँच पास गरेपछि सात पुस्तासम्म पुग्ने अकुत सम्पत्रिसमेत जोडेका छन् ।
राजनीतिक अस्थिरताको फाइदा उठाउँदै प्रधानमन्त्री, मन्त्रीहरूलाई अर्बौँको नीतिगत भ्रष्टाचार गर्न कानुनी बाटो देखाउने पनि यही वर्ग हुन्, जसका कारण हरेक दल र तिनका नेताहरू भ्रष्टाचारमा डामिए, व्यवस्थाकै बदनाम भयो । यो तिन दशकमा पटक पटक व्यवस्था फेरिनुको पछाडि पनि यिनै भ्रष्ट कर्मचारीहरूको हात छ, ‘धान खाने मुसा, सजाय भोग्ने बिरालो’ भनेझैँ भ्रष्टाचार गर्ने र गर्न सिकाउने कर्मचारी, बदनाम हुने प्रधानमन्त्री, मन्त्री र व्यवस्था ।
अव यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । जेनजीले पनि भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु गर्नुपर्ने माग राखेका थिए । नयाँ सरकारको जग पनि जेनजी आन्दोलन भएकाले सरकारको प्राथमिकता सुशासन कायम गर्नेतिर केन्द्रित हुनुपर्छ । त्यसका लागि ०४६ पछि निजामती प्रशासनमा बसेर अकुत सम्पत्ति कमाउनेहरूमाथि छानबिन हुनुपर्छ ।
दुई तिहाइको जगमा उभिएको सरकारको सफलता, असफलता निजामती कर्मचारीहरूको चरित्र र व्यवहारमा निर्भर हुने हुँदा राजनीतिक दलको कार्यकर्ता भएर देश डुबाउने जो कोहीमाथि पनि निगरानी बढाउनुपर्ने हुन्छ ।
अख्तियार प्रमुख प्रेम राईले अख्तियार दिवसकै दिन देश बिचौलियाहरूले चलाइरहेको तितो सत्य त्यसै पोखेका होइनन्, सत्ता बनाउने र ढाल्नेसम्मका घटनामा बिचौलियाहरूको भूमिकालाई नजिकबाट नियालेर उनले त्यो कुरा बोलेका हुन् । निजामती कर्मचारी सरुवा, बढुवा गर्ने र तिनैबाट आफ्नो स्वार्थपूर्ति गर्नेमा सत्तानिकट बिचौलियाहरूले निजामती कर्मचारीहरूलाई प्रयोग गर्ने गरेको धेरै उदाहरणहरू छन् ।
यो दीर्घरोगबाट देशलाई उन्मुक्ति दिन सकियो भने मात्रै बालेन सफल होलान्, अन्यथा सुशीला कार्कीलाई जस्तै सचिवहरूले फनफनी घुमाएर असफल बनाउन सक्छन् ।











