Logo
Logo

रास्वपाको जितमा नेकपा पृष्ठभूमिको वर्चस्व


1.3k
Shares

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई–तिहाइ बहुमतसहित ऐतिहासिक सफलता हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेर रास्वपाले सदनमा १८२ सिट सुरक्षित गरेको छ ।

यद्यपि, प्रत्यक्षतर्फ निर्वाचित भएकामध्ये ४० जनाभन्दा बढी सांसदहरू अन्य राजनीतिक दल त्यागेर रास्वपा प्रवेश गरेका व्यक्तिहरू छन । विशेषगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) छोडेर रास्वपाको टिकटमा संसद पुग्नेहरूको संख्या उल्लेख्य छ ।

नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारा दिए पनि रास्वपाका ४२ जना सांसदहरू कांग्रेस, एमाले र नेकपाकै पृष्ठभूमिबाट आएका छन् । कतिपय निर्वाचित सदस्यहरू राज्यका विभिन्न निकायमा लामो समय सेवा गरी निवृत्त भएका पूर्वकर्मचारीहरू समेत हुन् ।

रास्वपाबाट चुनाव जित्ने धेरैजसो नेताहरू विगतमा पटक–पटक परीक्षण भइसकेका अनुहार हुन् । कतिपय त प्रदेशसभामा निर्वाचित भई मन्त्रीसम्म भइसकेका व्यक्तिहरू छन् ।

त्यसैको एक उदाहरण हुन्, रहबर अन्सारी । बारा क्षेत्र नं. ४ बाट निर्वाचित रहबर अन्सारी उम्मेदवारी दर्ताको दुई दिनअघि मात्र रास्वपा प्रवेश गरेका थिए । उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र र केन्द्रीय सदस्य थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित अन्सारी पछि प्रदेशसभा सदस्य र मन्त्रीसमेत बनेका थिए । अहिले माओवादी ‘पुरानो’ भएको तर्क गर्दै उनी रास्वपाबाट निर्वाचित भएका हुन्।

अहिलेको नेकपा छोडेर रास्वपाबाट चुनाव लड्ने रहबर मात्र होइन धेरै जना रहेका छन् । त्यस्तै सर्लाही– ३ बाट जितेका रास्वपाका नरेन्द्र साह कलवार पनि पुसको अन्तिमसम्म नेकपाका नेता थिए । तर, उनको टिकट नारायणकाजी श्रेष्ठले खोसेपछि रास्वपा प्रवेश गरेर टिकट लिएका थिए ।

कलवारले श्रेष्ठलाई हराएर संसदमा पुगेका छन् । तर, रास्वपाले भन्दै आएको जस्तो कलवार नयाँ होइनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही– ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए, तर हारे । उनी २०७० सालको संविधानसभा निर्वाचनमा तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक सभासद् बनेका थिए ।

कलवार उम्मेदवार बन्नका लागि १२ असोज २०७९ मा माओवादी केन्द्र प्रवेश गरेका थिए । नभन्दै २०७९ सालमा सर्लाही– ३ बाट उम्मेदवार बनेर ३२ हजार १६८ मत ल्याएर हारेका थिए । तर, योपटक टिकट नपाउने भएपछि रास्वपा प्रवेश गरेका थिए ।

यता रौतहट–३ बाट निर्वाचित रवीन्द्र पटेल पनि नेकपा (माओवादी) को प्रदेश समिति सदस्य र जनयुद्धका पुराना नेता हुन् । अघिल्लो निर्वाचनमा माओवादीले प्रभु साहलाई समर्थन गरेपछि उनी असन्तुष्ट थिए । यसपटक नेकपाले पुनम देवीलाई टिकट दिएपछि उनी अन्तिम समयमा रास्वपा पुगेका हुन् ।

पर्सा–४ बाट निर्वाचित टेकबहादुर शाक्य र धादिङ–२ बाट विजयी बोधनारायण श्रेष्ठको पृष्ठभूमि पनि माओवादी केन्द्रसँगै जोडिएको छ । शाक्य पूर्वकेन्द्रीय सदस्य हुन् भने श्रेष्ठ युनिसेफको जागिर छोडेर चुनावको एक महिनाअघि मात्र राजनीतिमा होमिएका हुन् । नवलपरासी सुस्तापूर्व–१ बाट जितेका राजन गौतम पनि माओवादी जनयुद्धकै उत्पादन हुन्, जो विभिन्न समयमा टिकट नपाएपछि रास्वपा प्रवेश गरेका थिए।

रास्वपाबाट धादिङ– २ बाट चुनाव जितेका बोधनारायण श्रेष्ठ पनि तत्कालीन माओवादी केन्द्रका समर्थक हुन् । उनी नेता नभए पनि माओवादीमा आस्थावान् थिए । उम्मेदवारी दिनुभन्दा एक महिनापहिलासम्म युनिसेफमा जागिर गर्दै आएका थिए । तर, रास्वपा प्रवेश गरेर नै टिकट लिएका हुन् । उनले अत्यधिक मतले चुनाव जितेका छन् ।

नवलपरासी सुस्तापूर्व–१ बाट जितेका राजन गौतम पनि माओवादी जनयुद्धकै उत्पादन हुन् । ०७४ सालको स्थानीय तहको चुनावमा देवचुली नगरपालिकामा वडा अध्यक्षको टिकटको दाबेदार थिए । तर, उनले टिकट पाएनन् । ०७९ सालमा प्रतिनिधिसभाको टिकटको आकांक्षी थिए । त्यसबेला पनि टिकट पाएनन् ।

कांग्रेससँग गठबन्धन गरेको माओवादीले शशांक कोइरालालाई समर्थन गरेपछि उनी रास्वपा प्रवेश गरेर टिकट लिएका थिए । उनले त्यो समयमा कोइरालासँग हारेका थिए ।

पूर्णतः नयाँ र वैकल्पिक शक्ति भएकाले जनताले मत दिएको रास्वपाको दाबी छ तर, निर्वाचित हुनेहरूमा पुराना दलका असन्तुष्ट नेता, पूर्वमन्त्री र पटक–पटक अवसर पाएका व्यक्तिहरूको बाहुल्यता देखिएको छ ।

मतदाताले उम्मेदवारको पृष्ठभूमि भन्दा पनि ‘रास्वपाको लहर’ र चुनाव चिह्न ‘घण्टी’ लाई विश्वास गरेर मतदान गरेको देखिन्छ । यहाँसम्म कि मतदाताहरूले आफूले भोट दिएको उम्मेदवारको नामसम्म पनि थाहा नपाएरसमेत भोट दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्