
काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।
दूतावासले विज्ञप्ति जारी गरेर अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरुलाई उद्धार गरिएको जानकारी दिएको छ ।
दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो । उद्धार गरिएकाहरु गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा शुक्रबार नै त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।
अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ ।
दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा नजान सचेत गराएको छ ।












