
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सवारी सञ्चालनमा आएको हो ।
आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले जानकारी दिए । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब ५ किलोमिटर सवारीको जाम रहेको छ । तीन दिनदेखि सडक अवरुद्ध भएकोले यात्रुहरु अलपत्र परेका छन् ।
विस्तारका क्रममा रहेको दाउन्नेको करिब चार किलोमिटर सडक निर्माणको काम पूरा नहुँदा वर्षा भएसँगै चिप्लो र हिलो भएर यातायात अवरुद्ध हुदै आएको छ । सडकमा हिलो भएकोले सवारी साधनलाई दाउन्नेको उकालो पार गर्न समस्या भएको प्रहरीले जनाएको छ ।











