
जब बैरीको बुट मेरो आमाको छातीमा बज्रिन्छ
तब सबै वर्ग, जाति, धर्म र भाषीको मुटु चर्किन्छ ।
स्वतन्त्र फैलिएको मदेशलाई जति चोट लाग्छ
पखा, पखेरी, पहाड र हिमाललाई उति नै दुख्छ ।
कालापानी, सुस्ता र टनकपुर लुछिदा
हिमाल र पहाडको मुटु पनि चुँडिन्छ ।
के देश भूगोलले मात्र बाँधिएको छ र ?
होइन भावना र आत्मसम्मानले पनि गाँसिएको छ ।
सगरमाथाको शिर झुक्दा के हिमाल मात्रै झुक्छ ?
पहाड सँगै मदेश पनि उति नै झुक्छ ।
विभाजन र मतभेद स्वीकार्य छैन हामीलाई
गौतमबद्धको उपदेश हाम्रो साझा होइन ?
जाति,वर्ग र भूगोलमा विभाजनको डोजर चलाएर
जनताको इतिहास र वीरताको खजाना बेच्ने
शासकले अनगिन्ती विलासिता त किने होलान्
झुल्कँदो किरण बेचेर अन्धकारमय भविष्य किन्नुको के अर्थ ।
छिमेकीको दैलो ढुकेर सफलताको ताज भिर्नेहरू
आमाको अस्मिता बेचर सिंहदरबार छिर्नेहरू
आशाका मुना चुढेर ओइलाएको फुल त सजिएला
तर त्यसले वासना होइन दुर्गन्ध फैलाउने निश्चित छ ।
विश्वास बेचर घात किन्नेको पसल चल्नु र नचल्नुको के अर्थ ?
के नागरिक नागरिकताका मात्रै हकदार हुन ?
आखिर त्यो हक पारिजातबाट पनि खोसियो।
देश राष्ट्रिय गान र सारङ्गीको धुनमा मात्रै रेटिन्छ कि ?
राष्ट्रियता, स्वाधीनता र अखण्डतामा पनि भेटिन्छ ।
शासक पटक पटक बदलिए तर नेपाल आमाको पीडा बदलिएन
कालापानी, टनकपुर र सुस्ताको मुहार बदलिएन
अहंकारको मसाल बोक्नेहरू आफ्नै धुवाले रन्थनिएका बेला
इतिहासको लङ्का ढलेर रामराज्यको सिंहासन उठेको वेला
बिशवास, भरोसा र सपना बेचर आधुनिक अन्तर्घातको महल नउठोस्
हाम्रो चन्द्र,सूर्य अङ्कित झन्डामा कुनै विदेशीको ग्रहणले नछेकियोस्
कुशासनको छाया होइन सुशासनको किरण झुल्कियोस् सबै शुभकामना











