काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि शुक्रबार बिहान संसद् सचिवालयमा मनोनयन दर्ता गराएका छन् ।

बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो सर्वसम्मत रूपमा अनुमोदन भएको थियो ।
अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।
उम्मेदवारी दर्ताका लागि संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ ।











