
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सहायक कम्पनीबाट व्यवसायी दीपक भट्टले रकम दुरुपयोग गरी ५५ नम्बरको भृकुटी ब्रोकर कम्पनीमार्फत खरिद सेयरको भुक्तानी गरेका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि.का आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका सेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिमार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने गलत समाचारहरु प्रकाशित भएको प्रति कम्पनीको गम्भिर ध्यानाकर्षण भएको छ’, नेपाल लाइफको दाबी छ, ‘यस कम्पनीको माथि उल्लेख गरिए अनुरुप दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बनिधत सवैमा जानकारीको लागि अनुरोध गर्दछौँ।’
सम्पत्ति शुद्धीकरण विभागले नेपाल बीमा प्राधिकरणलाई लेखेको पत्र संख्या ०८२÷८३ को चलानी संख्या १०९ को गत फागुन २८ को पत्रमा भट्टले नेपाल लाइफ इन्स्योरेन्सकै सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरेको उल्लेख छ। त्यसैलाई उल्लेख गरी सञ्चारमाध्यममा समाचार आएको थियो।
तर नेपाल लाइफ इन्स्योरेन्सले भने शुक्रबार विज्ञप्तिमार्फत विभागको पत्र र त्यसअनुसारका समाचारप्रति खण्डन गरेको हो।‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सधैँ प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको व्यहोरा हाम्रा सम्पूर्ण सरोकारवालाहरुमा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौँ’, कम्पनीले भनेको छ। यस प्रकरणमा सीआईबीले भट्टलाई बिहीबार काठमाडौंको गैह्रीधारबाट पक्राउ गरिसकेको छ ।











