Logo
Logo

उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन : रवि लामिछाने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनको विषयमा पार्टीले अहिले नै कुनै छलफल शुरु नगरेको स्पष्ट पारेका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताए । उनले सभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गरिने स्पष्ट पारे ।

संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरू र संसदीय अभ्यासलाई सन्तुलित रूपमा लैजानुपर्नेमा जोड दिँदै उनले कतिपय अवस्थामा उम्मेदवारी नहुने परिस्थिति पनि आउन सक्ने संकेत गरे । लामिछानेले अन्य दलहरूसँगको समन्वय र संसदीय प्रक्रियाको चरणवद्ध विकासले नै आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे । उनले सभामुखले प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दाहरूलाई बन्देज लगाउने खालको व्यवहार गर्न नहुनेमा खबरदारी गरे ।

उनले भने, ‘हामी अहिले उपसभामुखको छलफलमा प्रवेश गरेका छैनौँ । पहिला सभामुखको काम सकौँ, त्यस पछाडि मात्र उपसभामुखबारे छलफल गरौँला । संवैधानिक व्यवस्था र व्यावहारिक परिस्थिति दुवैलाई हेरेर हामी अगाडि बढ्छौँ । जुन स्पिरिटमा मैले संसदमा आफ्नो मन्तव्य राखेको थिएँ, पार्टी त्यही स्पिरिटमा अडिग छ । सभामुख भइसकेपछि उहाँ पार्टीको रहनुहुन्न। पार्टीमा रहँदाका अनुभव र असहजतालाई उहाँले व्यवहारमा उतार्दा लोकतान्त्रिक मूल्य मान्यतालाई ध्यान दिनुपर्छ ।’

लामिछानेले सभामुखको भुमिका निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिए । सभामुख पदमा निर्वाचित भइसकेपछि व्यक्ति कुनै विशेष राजनीतिक दलको नभई सिङ्गो सदन र सबै सांसदहरूको साझा अभिभावक हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्