Logo
Logo

महासचिव पौडेल अध्यक्ष प्रचण्डलाई भेट्न पुगे खुमलटार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । महासचिव पौडेल मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भोलि बुधबार बस्ने सचिवालय बैठक र अघिल्लो बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावबारे छलफल गरेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर महासचिव पौडेल खुमलटार पुगेको बताइन्छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेललाई भेट्न मंगलबार खुमलटार पठाए पनि पौडेलले ठोस सन्देश के लगे भन्ने खुलिसकेको छैन । ‘महासचिव बिहान खुमलटार आउनुभएको हो । तर दुई जनाबीच के कुराकानी भयो भन्ने जानकारीमा छैन,’ खुमलटार स्रोतले दृष्टिलाई भन्यो, ‘पार्टीमा देखिएको समस्याकै बारेमा कुराकानी भएको हुनसक्छ । तर के–के सन्देश ल्याउनुभयो भन्ने स्पष्ट भैसकेको छैन ।’

प्रधानमन्त्री तथा अध्यक्ष ओली बुधबार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी नहुने पक्षमा छन् । त्यसका लागि उनले आफ्ना दूतहरुमार्फत प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न दवाव दिइरहेका छन् । सोही योजनाअनुसार ओलीले आइतबार र सोमबार विभिन्न पक्षका नेताहरुसँग भेटवार्तालाई तीव्रता दिएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर ओलीले भेटवार्ता गरेका थिए । ती भेटवार्तामा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्नसक्ने बताउँदै आएका छन् ।

गत शुक्रबार झण्डै ४० दिनपछि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । जसमा अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको भन्दै योगदान गर्न सुझाव दिइएको छ । तर ओलीले उक्त सुझावलाई आफूमाथिको प्रहार ठानेका छन् । सोही क्रममा नेता नेपाल र गौतमले समेत ओलीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्