
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।
उनीहरूका रिट निवेदन सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
‘जेनजी’ आन्दोलनका घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई यही चैत १४ देखि प्रहरीको हिरासतमा राखिएको छ ।
पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनीहरूको रिहाइ माग गरी यही चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएका हुन् ।
जसमा चैत १६ गते सर्वोच्चले विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश दिएको थियो । जसअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले आज सुनुवाइका लागि पेसी तोकिएको हो ।











