काठमाडौं । नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आइतवार बिदा दिने निर्णयलाई उपभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

‘बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा नागरिकको पनि योगदान चाहिन्छ’, प्रवक्ता ठाकुरले भन्नुभयो, ‘अहिले निगमलाई प्रतिलिटरमा १२० रुपैयाँ घाटा भइरहेको छ । इन्धन खपत कम गर्न बिदा दिने सरकारको निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।’
पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न कानूनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । निगमका प्रवक्ता ठाकुर सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आउँदो एक हप्ता कुर्नुपर्ने बताए ।
‘बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ’, उनले भने, ‘धेरै विद्यालय निजी छन् । तिनले गाडीबाट ठूलो मात्रामा इन्धन खपत गरिरहेका छन् । साथै एसइई चलिरहेकाले गाडीको प्रयोग अझै उच्च छ । परीक्षा सकिएपछि खपतको यकिन तथ्याङ्क आउँछ ।’











