काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पारे ।

उनले अनैतिक र गैरकानुनी कार्य गर्नेलाई मात्र विद्यमान कानुनबमोजिम कारबाही हुने बताए । उनले भने, ‘सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ । पेपरलेस प्रणाली, बैङ्कमार्फत कारोबार, लाभांश सिधै खातामा जम्मा हुने व्यवस्था र स्पष्ट कर प्रणालीले यो क्षेत्रलाई विश्वसनीय बनाएको छ। कसले किन्यो र बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली अत्यन्त भरपर्दो छ ।’
उनले सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा अघि बढाएको बताए । तर इन्साइडर ट्रेडिङ, बजार म्यानिपुलेसन जस्ता अनैतिक गतिविधि भएमा कानुनअनुसार कारबाही हुने बताए । उनले भने, ‘अहिले लगानीकर्ताले प्यानिक हुन आवश्यक छैन । आगामी दिनमा सेयर बजार सुधारका लागि थप काम हुनेछन् । नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरी सुधार अघि बढाइने छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रका बुँदा ३३ र ३४ ले नै सेयर बजारप्रति पार्टीको उदार नीति स्पष्ट गर्ने उनले बताए । उनले बजारमा सुनौला दिन आउने विश्वास व्यक्त गर्दै सरकारको अहिलेको मुख्य प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको बताए ।











