काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको राष्ट्रियसभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रेम प्रसाद दंगालले भण्डारीलाई राष्ट्रियसभा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामा उक्त प्रस्ताव सर्वसम्मत पारित भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्षको शपथ र पदभार मङ्गलवार हुने छ । राष्ट्रियसभाको अर्को बैठक चैत्र २५ गते बुधवार बोलाइएको छ ।










