
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैठकपछि संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको जानकारी दिइन् ।
यसअघि उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । गभर्नर हुने चर्चाबीच उनले उक्त पदबाट राजीनामा दिएका थिए । भट्टले राष्ट्र बैंकमा २५ वर्ष विताएका थिए । भट्ट २०५७ मा सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए ।
लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा जिम्मेवारी सम्हालेका उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा रहेर काम गरेका थिए ।
अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका उनी कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा सल्लाहकार भएका थिए ।










