
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि ‘अत्यन्त जरुरी सूचना’ जारी गरेको छ ।
दूतावासले मध्यपूर्वमा विकसित बढ्दो तनावका कारण जारी युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यानमा राख्दै विभिन्न स्थानमा रहेका नेपाली नागरिकलाई मापदण्ड पालना गर्न भनेको हो।
दूताबासले इजरायलको मापदण्ड, नियम कानून पालनासँगै आवश्यक सूचना र साइरनले दिने संकेतबारे पनि अद्यावधिक रहन र समस्या पर्दा दूताबासमा तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।
दूताबासले संयमता अपनाएर जहाँ बसोबास भइरहेको छ, त्यहीँ सतर्क र सुरक्षित रहन, इजरायल सरकार र आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि भनेको छ ।
यस्तै, साइरन, एसएमइस इलर्ट आए हेलचेक्र्याईं नगरी समयभित्रै आफू नजिक रहेको बम सेल्टरमा जान भनिएको छ ।
राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड लगायतका कागजात साथमा राख्न, विकसित घट्नाक्रमबारे नियमितरूपमा अद्यावधिक जानकारी राख्न पनि आग्रह गरिएको छ ।
यस्तै, सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडियो अनावश्यकरूपमा सेयर नगर्न, साथीभाइ, परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहन, आपतकालीन अवस्थामा नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि दुताबासले आग्रह गरेको छ ।











