Logo
Logo

एउटालाई गरेको फोन अर्कैलाई पर्दा दाजुभाइ मारिए


3.4k
Shares

काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु भएको छ । उनीहरुको बिएण्डबी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का दाजुभाई सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो । एउटालाई गरेको फोन अर्कैको नम्बरमा डायल हुँदा उत्पन्न विवादपछि दाजुभाइले नै ज्यान गुमाएका छन् ।

ललितपुर प्रहरीका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आफूबाट गल्ती भएको भन्दै माफी माग्न र मिल्नका निम्ति सुमित–सिर्जन दाजुभाइ त्यहाँ पुगेका थिए । उनीहरु दुबै पक्ष एकआपसमा अपरिचित थिए ।

दाजुभाइले गल्ती भयो भनेर कुरा गर्न खोज्दा कुरै नसुनी त्यहीँको एक मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले सिर्जनलाई चक्कु प्रहार गरेका थिए । भाइमाथि चक्कु प्रहार भएपछि दाइ सुमित छुट्याउन तम्सिए । तर, उनीमाथि पनि छुरा प्रहार भएको थियो ।

घाइते दाजुभाइलाई प्रहरीले तत्कालै ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगेको थियो । तर, अस्पतालले मृत घोषणा गरेको हो ।

नेम्बाङ दाजुभाइको हत्या अभियोगमा सञ्जीव र गगन सुनारलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्