काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनको निर्वाचन र साधारणसभा रोकिने भएको छ । उच्च अदालतले पाटनले महासंघले चैत २९ र ३० गते गर्न लागेको ६० औं बार्षिक साधारणसभा तथा चुनाव तत्कालका लागि रोक्न आदेश जारी गरेको हो ।

न्यायधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलाशले निवेदकको माग बमोजिम नै अन्तरिम आदेश जारी गरेसँगै महासङ्घको ६०औँ साधारणसभा र निर्वाचन तत्कालका लागि रोकिएको हो ।
चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसहितका सदस्यले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा उद्योग वाणिज्य महासङ्घ, महासङ्घको कार्यकारणी समिति, महासङ्घको सदस्यता समिति र महासङ्घको निर्वाचन समितिलाई विपक्षी बनाईएको थियो ।
चैत्र २३ गते न्यायधीश स्वीकृति पराजुलीको एकल इजलाशले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी हुने आदेश दिएको थियो । बिहीबार (चैत्र २६) गते सोही आदेशले निरन्तरता पाउने गरी अन्तरिम आदेश जारी भएको हो ।










