Logo
Logo

‘खाँटी’ जेनजी रूबी ठाकुरलाई ब्याक टू ब्याक ‘सरप्राइज’


1.9k
Shares

काठमाडौं । धनुषाको मझेलिया गाउँकी २५ वर्षीया रूबीकुमारी ठाकुरलाई यति चाँडै सफलताको शिखर पुग्छु भन्ने सायद उनकै कल्पनाबाहिरको विषय थियो ।

एउटा सामान्य श्रमिक परिवारमा हुर्किएकी युवती, जो आज देशको सर्वोच्च विधायकी संस्था प्रतिनिधिसभाको उपसभामुख बन्ने सङ्घारमा उभिएकी छिन् । यो केवल एक राजनीतिक नियुक्ति मात्र नभएर नेपाली राजनीतिमा भुइँतहको प्रतिनिधित्व र समावेशी लोकतन्त्रको एक जीवन्त तस्बिर पनि हो।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सूचीबाट उनलाई सांसद चयन गर्दा रुबीका लागि त्यो पहिलो सरप्राइज थियो । त्यसपछि धरान पुगेर उनीले भनेकी थिइन– ‘यो मेरो लागि सरप्राइज नै हो ।’

तर, घटनाक्रमले उनलाई अर्को ठूलो छलाङतर्फ डोर्‍यायो । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थनमा उनी अब उपसभामुख बन्ने निश्चित भएको छ। विहिबार उम्मेदवारी दर्ता गरेपछि उनले भावुक हुँदै भनिन्– ‘यो पनि मेरो लागि सरप्राइज भयो ।’

रुबीको पृष्ठभूमि कुनै सम्भ्रान्त राजनीतिक विरासतसँग जोडिएको छैन । उनकी आमा रेनुदेवी अझै पनि ज्याला–मजदुरी गरेर जीविकोपार्जन गर्छिन् भने बुबा सोगरथ ठाकुर विगत एक दशकदेखि साउदी अरबको मरुभूमिमा पसिना बगाइरहेका छन् ।

ठाकुर परिवारको परम्परागत पेसा कपाल काट्ने (नाइ) भए पनि आर्थिक अभावका कारण उनीहरूले अधियाँमा खेतीपाती र श्रमिकका रूपमा सङ्घर्ष गरिरहेका छन् ।

अभावका बीच पनि रुबीले आफ्नो अध्ययनलाई विश्राम दिइनन् । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकी उनी निजी कन्सल्टेन्सीमा काम गर्दै परिवारको सहारा बनेकी थिइन्।

राजनीतिमा खासै अभिरुचि नभएकी रुबीलाई हर्क साम्पाङको श्रम संस्कृति र काम गर्ने शैलीले आकर्षित गर्‍यो। मधेसका परम्परागत राजनीतिक किल्लाहरूमा माटो चुनाव चिह्न लिएर हिँड्दा उनले कहिल्यै सोचेकी थिइनन् कि उनी स्वयं सदनको नेतृत्वदायी भूमिकामा पुग्नेछिन्।

देशको कान्छी सांसदमध्ये एक रुबीका काँधमा अब देशको कानुन निर्माण र संसदीय गरिमा कायम राख्ने गरुङ्गो जिम्मेवारी छ । मधेसमा व्याप्त दाइजो प्रथा, बालविवाह र बेरोजगारी जस्ता सामाजिक रोगहरू विरुद्ध आवाज उठाउने उनको मुख्य संकल्प छ।

रास्वपाको करिब दुई तिहाइ बहुमतको समर्थन र श्रम संस्कृतिको साथले गर्दा रुबीको उपसभामुख यात्रा अब औपचारिकतामा मात्र सीमित देखिने छैन एउटा मजदुरकी छोरीले सिंहदरबारको महत्वपूर्ण आसन ग्रहण गर्नुले नेपाली राजनीतिमा नयाँ आशा र सम्भावनाको सञ्चार गरेको छ।

प्रतिक्रिया दिनुहोस्