Logo
Logo

स्वीस बैंकमा क–कसको खाता छ ?


1.2k
Shares

काठमाडौं । देशमा हुने गरेका ठूला भ्रष्टाचारको डिल र कमिशनको लेनदेन विदेशमै हुने गरेको खुलासा संसदीय समितिमा गरेर अख्तियार प्रमुख प्रेमकुमार राईले तरंग ल्याइदिएका थिए । भ्रष्टाचारबाट आर्जित कमिशनबापतको रकम अरबौं रुपैयाा विदेशमा लुकाइएको तथ्यहरु अख्तियार स्वयंले उजागर गरिसकेको छ । तर, यसरी विदेशमा कालोधन थुपार्नेहरूमाथि कारबाहीको आँट भने विगत सरकारले गर्न सकेन ।

वालेन शाह नेतृत्वको नयाँ सरकारले विदेशमा रहेको नेपालीको करोडौँ करोड डलर कालोधनको खोजी गर्ने साहस इतिहासमा पहिलोपटक गृहमन्त्री सुधन गुरुङले देखाएका छन् । गृहमन्त्री सुधन गुरुङले नेपालीस्थित स्वीटजरल्यान्डका राजदूत डेनियल म्युवलीलाई भेटेर स्वीस बैंकमा रहेको नेपाली नागरिकको धनबारे सूचना दिन आग्रह गरेका छन् ।

स्वीस बैंकमा नेपालीहरुले जम्मा गरेको रकम अरबौंमा रहेको तथ्यांक छ । स्विस नेशनल बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ को अन्त्यसम्म नेपालीहरुको निक्षेप ३८७ मिलियन स्विस फ्रांक अर्थात् ६५ अर्ब नेपाली रुपैयाँ बराबरको रकम छ ।

खोज पत्रकारिता केन्द्रले सन् २०१९ मा सार्वजनिक गरेको रिपोर्ट अनुसार स्विजरल्यान्डको बैंकहरुमा नेपालीहरुको ३५ अर्ब ८४ करोड रहेको छ । सन् २०२० मा ४६ अर्ब ६४ करोड रहेकोमा १९ अर्ब रुपैयाँ थपिएको छ । तर, रकम क–कसको हो ? उक्त रकमको आयस्रोत के हो र त्यत्रो रकम स्विस बैंकमा कसरी पु¥याइयो भन्ने कुराको सूचना लिन सजिलो छैन । स्विक बैंकिङ ऐन अनुसार निक्षेपकर्ताको अनुमति बिना बैंकको खाताबारे सूचना सार्वजनिक गरिनु फौजदारी अपराधकै रुपमा सजाय तोकिन्छ । त्यो जघन्य अपराधमा गणना हुनुले हत्तपत्त सूचना सार्वजनिक हुँदैन ।

विकिलिक्सले स्विस बैंकमा बढी रकम जम्मा गर्ने विश्वभरका मानिसहरुबारे सूचना चुहाएको थियो । त्यसमा नेपालका विवादास्पद व्यापारी र उनीहरुका परिवारका सदस्य पनि थिए । नेपाललिक्सको रिपोर्ट अनुसार स्विटजरल्यान्ड, द ब्रिटिश भर्जिन आइल्यान्ड्स, सिसेलिस र युएईमा नेपाललगायत दक्षिण एसियाका धनाढ्यहरुले कालो धन लुकाउने गरेको उल्लेख छ ।

५५ जना नेपाली नागरिकले विभिन्न विदेशी मुलुकमा ठूलो धनराशी राखेको खोज पत्रकारिता केन्द्र, नेपालले खुलासा गरेको थियो । पूर्वमन्त्री वीरेन्द्र महतोको बेलारुसमा लगानी भेटिएको थियो । उनले त्यतिबेला सात वर्ष अघि लगानी भएको बताएका थिए । व्यवसायी अजेयराज सुमार्गी र उनका कर्मचारी अर्जुन शर्माको पनि विदेशमा ब्रिटिश भर्जिन आइल्यान्डस्मा लगानी भेटिएको थियो ।

चौधरी ग्रुपका अरुणकुमार चौधरी उनकी श्रीमती शिला, छोरा करण र सुर्भान्सको पनि ब्रिटिश भर्जिन आइल्यान्ड्समा धन भेटिएको थियो । काठमाडौं शुक्रपथका राजेन्द्रकुमार काव्रा र उनकी पत्नी रेखा काब्राको पनि सोही देशमा धन भेटिएको थियो ।

विदेशमा ठूलो धनराशी भएको खुलासा भएका नेपालीमा नवाङ डोल्मा, उमादेवी सिंघानिया, रिनुका प्रधान, पुनम प्रधान, अजयप्रसाद प्रधान, विमलकाजी ताम्राकार, विश्ववरसिंह थापा, नवीन्द्र जोशी, विश्वधर तुलाधर, विजेन्द्र जोशी, अरुण श्रेष्ठ र विनु श्रेष्ठ पनि हुन् ।

विनु श्रेष्ठ हरिसिद्धि ईट्टा टायर कारखानाका मालिक लक्ष्मीबहादुर श्रेष्ठकी पत्नी हुन् । लक्ष्मीबहादुरले ठूलो धनराशी विदेशमा लुकाएको तथ्य चुहिएपछि उनको घरपरिवारले जिब्रो टोकेका थिए ।

सन् २०१७ मा प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा किशोर राना, निर्मल श्रेष्ठको पनि नाम समावेश थियो । उनीहरुको माल्टामा लगानी फेला परेको थियो । श्याममिलन श्रेष्ठ, आशिष रौनियार, चिम्पाल रौनियारको पनि विदेशमा धन भेटिएको थियो ।

ब्रिटिस भर्जिन आइल्यान्डमा लगानी भेटिएकोमा खुश्बु सरकार पनि हुन् । आइसीआइजेको विवरणमा उनको लगानी भेटिएको छ । विदेशमा ठूलो धन भेटिएकामा अर्का व्यक्ति योगेशलाल श्रेष्ठ, मेनुका श्रेष्ठ, राजनलाल श्रेष्ठ, विकास सिन्हा, जनक डानियल बस्नेत, राजेन्द्र बजगाईँ, सुधीर मित्तल, राजेन्द्र शाक्य, पुरुषोत्तम पौडेल पनि हुन् । यसैगरी, डाक्टर श्यामबहादुर कर्माचार्य, प्राध्यापक शतेन्द्र गुप्ताको धन पनि टेक्स हेवनमा भेटिएको थियो ।

यसैगरी, मंगेशलाल श्रेष्ठ, एनसेलका मालिक सतिशलाल आचार्य र भावनासिंह श्रेष्ठको पनि विदेशमा लगानी भेटिएको थियो । होटल मल्लकी रमा मल्लले पनि बेलायतमा लगानी गरेको भेटिएको थियो । रमाकी व्यवसायिक साझेदार मिनु शाहको पनि विदेशमा लगानी भेटिएको थियो ।

नेपालका व्यवसायिक घराना र कतिपय नाम नसुनिएका व्यक्तिहरुले टेक्व हेवन मुलुकमा धन लुकाएको भेटिएको थियो । तर, आजसम्म विदेशमा सम्पत्ति लुकाउनेहरूमाथि अनुसन्धान थालेको पाइन्न ।

ओली पनि मुछिए

यसैगरी, सबैभन्दा सनसनी कुरा कम्बोडियामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो लगानीबारे विदेशी मिडियामै खबर आयो । फ्रान्सेली पत्रकारले ग्लोबल वाच एनसिलसिसमा ओली र उनकी पत्नी राधिका शाक्यको नाममा स्वीस बैंकमा ५५ लाख डलर रकम जम्मा रहेको रिपोर्ट सार्वजनिक गरेको थियो । कम्बोडियाको टेलिकममा पनि लगानी रहेको रिपोर्टमा उल्लेख छ । तर, ओलीले उक्त कुराको खण्डन गरेका छैनन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा र छोरा जयवीर देउवाको नाममा पनि सिंगापुर र हङकङमा ठूलो धनराशी रहेको विषय चर्चामा छ । जयवीरले टेलिकम माफिया विकल पौडेल समूहबाट कमिशन विदेशमा लिएको तथ्य अख्तियारले फेला पारेको विषय पनि चर्चामा छ ।

विगतमा विदेशी बैंकमा पैसा राख्नेदेखि सम्पत्ति जोड्ने गरेको तथ्यहरू बाहिर आए पनि त्यसको छानबिन नहुँदा नेपालको सम्पत्ति विदेश लैजाने क्रम बढ्दो छ । तर, ती धन देशमा फर्काउने कुनै पहल भएन । बालेन सरकारले विदेशमा पु¥याइएको गैरकानूनी धन फिर्ता ल्याउने पहल देखाएजस्तो छ । त्यसका लागि कूटनीतिक माध्यममार्फत कुराकानी पनि गरेको छ । गृहमन्त्री गुरुङको यो पहलले ठूला भ्रष्टाचारीहरू पनि आत्तिएका छन् । उनीहरु विदेशमा रहेको धन व्यवस्थामा सक्रिय भइसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्