Logo
Logo

ओलीको विकल्प नखोजे एमालेको अस्तित्व संकटमा


वैजनाथ चौधरी, नेता, एमाले

2k
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउने गृहकार्य सुरु भएको छ । ओलीको नेतृत्वमा गत फागुन २१ गतेको निर्वाचनमा एमालेले इतिहासकै ठुलो पराजय भोगेपछि नेता तथा कार्यकर्ताले ओलीको विकल्प खोज्न थालेका हुन् । गत निर्वाचनमा काठमाडौँमा उपत्यका १५ मध्ये ११ सहित देशभरका ४९ स्थानमा एमालेले जमानत जोगाउन सकेन । निर्वाचनमा एमालेको आधा भोट घटेको छ भने, प्रत्यक्षमा जम्मा ९ सिटमा खुम्चिएको छ ।

यसको मुख्य जिम्मेवारी ओलीले लिनुपर्ने संस्थापन इतरपक्षको माग छ । उनीहरूले अध्यक्ष ओलीलाई तत्काल राजीनामा दिन दबाब बढाएका छन्, अन्यथा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने बताएका छन् । यसैसन्दर्भमा एमालेका नेता वैजनाथ चौधरीसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

एमाले इतिहासकै कमजोर अवस्थामा कसरी पुग्यो ?
सिद्धान्त र व्यवहारको तालमेल ठिक ढंगले मिलाउन सकिएन भने कम्युनिस्ट आन्दोलनको ओरालो यात्रा सुरु हुन्छ । संसारमै कम्युनिस्ट आन्दोलन ‘डिफेन्सिभ’ स्थितिमा रहँदा नेपालमा ०४६ सालको आन्दोलनपछिको निर्वाचनमा कम्युनिस्ट विपक्षी दल बन्नु, ०५१ को निर्वाचनमा अल्पमतकै भए पनि सरकार बनाउने स्थितिमा पुग्नु, त्यसपछि लगातार सत्तापक्ष र प्रमुख प्रतिपक्ष हुँदै आयो ।

०७४ मा त दुई तिहाइ आयो नि ?
०७४ को निर्वाचनमा केन्द्रमा करिब दुई तिहाइ, सातमध्ये ६ प्रदेशमा सरकार र अधिकांश स्थानीय सरकार कम्युनिष्टको थियो । एमाले र माओवादीको गठबन्धनलाई जनताले अनुमोदन गरिदिएका थिए । निर्वाचनपछि ०७५ जेठ ३ गते पार्टी नै एकता गर्ने कुरो भयो । जबकि, त्यतिबेला आवश्यक तयारी नै नगरी एकता गरिएको थियो । त्यसलाई पनि कार्यकर्ताले सहजै स्वीकार गरेका थिए । नेपालको कम्युनिस्ट आन्दोलनको सबैभन्दा ‘क्लाइमेक्स’ भनेकै त्यही बेला हो । एउटै पार्टीले बहुमतका साथ केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार चलाउँदा धेरै ठुलो अवसर प्राप्त भएको थियो ।

किन ढल्यो त सरकार ?
कम्युनिष्टले अब केही दशक शासन गर्ने भए भन्ने आम बुझाइ थियो । तर, जनताले दिएको अभिमतअनुसार काम गर्न कुनै ‘प्लानिङ’ भएन । तत्कालीन सरकार (केपी ओली नेतृत्व)ले जनताको पक्षमा काम गर्न सकेन । जनताले गरेको आशा निराशामा परिणत भयो । जनतामा असन्तुष्टि बढ्दै गयो । ओली, प्रचण्ड र माधव नेपालको अहंकारको लडाइँ सुरु भयो । ओलीले दुई दुई पटक संविधानमै नभएको व्यवस्थामा टेकेर संसद् विघटन गर्नुभयो । जसका कारण पार्टी एकता पनि टिक्न सकेन ।

ओली–प्रचण्ड विवाद मात्रै थियो कि सैद्धान्तिक–वैचारिक कारण पनि ?
यसका कुनै सैद्धान्तिक कारण छैन । कार्यकर्तामा पनि कुनै बेमेल थिएन । नेतृत्वले बुद्धि नपु¥याएको र अहंकारलाई ठिक ठाउँमा राख्न नसकेको कारणले पार्टी फुटेको हो । त्यतिबेला नै हामी सुध्रिन सक्नुपथ्र्यो । शीर्ष नेताको पङ्क्तिमा रहेका सबै नेताहरूबाट गल्ती भयो । त्यसपछि तीनवटा पार्टी भयो । तीन वटै पार्टीकै शीर्ष नेताहरूमा सामूहिकता हरायो । शीर्ष नेतामा अहंकार धेरै पलायो । जनता मात्रै होइन, कार्यकर्ता पनि निराश हुने स्थिति बन्दै गयो । त्यसैको उपज हो, अहिलेको निराशाजनक निर्वाचन परिणाम ।

कम्युनिस्ट आन्दोलनमा लागेका हजारौँ युवाहरूको भविष्यमाथि नै खेलबाड भयो नि होइन ?
विगतमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको भावनाअनुसार चलेकै कारण कम्युनिस्ट आन्दोलन लोकप्रिय भएको हो । तर, पछिल्लो समय व्यक्तिवादमा पार्टी अगाडि बढ्यो । नेताहरूमा सत्ताको मात चढ्यो । जनताको अभिमतअनुसार काम गरेनन् । अहंकार चुलिएर शीर्ष नेताहरूले पार्टीलाई प्राइभेट कम्पनीजस्तो चलाउन थाले । सामूहिक भावनाअनुसार कुनै पनि निर्णय भएन । महाधिवेशनमा केन्द्रीय कमिटी चयनदेखि आम निर्वाचनमा टिकट वितरणसम्ममा नेतृत्वको मनोमानी चल्यो । त्यही कारण पार्टी खुम्चिँदै गयो ।

यसमा शीर्ष नेताहरूको मात्रै दोष हो कि दोस्रो÷तेस्रो पुस्ताका नेताको पनि कमजोरी देख्नुहुन्छ ?
यसमा शीर्ष नेताहरूको मुख्य दोष छदै छ । त्यसबाहेक शीर्ष नेतृत्वलाई देवत्वकरण गर्नेले पनि जिम्मेवारी लिनुपर्छ । यसमा दोस्रो, तेस्रो पंक्तिका नेताहरूको पनि दोष छ । सिद्धान्तलाई व्यवहारमा रूपान्तरण नगर्नु, सुशासनको ठाउँमा कुशासन चलाउनु र पार्टीलाई व्यक्तिवादी सोचमा चलाएकै कारणले कार्यकर्तामा निराशा छायो । त्यसपछि कति कार्यकर्ता घरमै चुपचाप बसे भने, कतिपयले पार्टी नै छाडे । यदि, अब पनि हामी सच्चिएनौँ भने, भारतमा ज्योति बसुको पश्चिम बंगालको कम्युनिस्ट पार्टीको स्थितिमा पुग्ने दिन आउँछ ।

केपी ओलीका लागि एमालेले विधान नै संशोधन गर्यो । त्यहीकारण जनताले आधारभूमि भनिएका ठाउँमा समेत एमालेका उम्मेदवारलाई पराजित गरिदिए होइन ?
गोदावारीमा विधान महाधिवेशन भइरहेको बेला हामीले ‘उमेर हद र दुई कार्यकालको कुरा हटाउनु हुँदैन’ भनेका थियौँ । अमेरिकामा राष्ट्रपति लगातार तीन कार्यकाल नहुने संवैधानिक व्यवस्था छ । तर, नेपालमा संविधानमा यस्तो प्रावधान छैन । हाम्रोमा पनि संविधानमा दलसम्बन्धी व्यवस्थामा त्यो कुरा लेखेको भए धेरै सजिलो हुन्थ्यो । एमालेले पार्टीको विधानमा ७० वर्षे उमेरहद र एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने व्यवस्था नवौँ महाधिवेशनबाट गरेको थियो । तर, पछिल्लो समय बाँचुन्जेलसम्म पदमा टाँसिरहने प्रवृत्ति एमालेमा हाबी भयो । ओलीले ‘संविधानमा लेखिएको छैन, उमेरले के गर्छ, जोश पो युवाको हुनुपर्छ’ भन्ने व्याख्या गरेर विधान नै संशोधन गर्दै तेस्रो कार्यकाल आफैँ अध्यक्ष बन्नुभयो । एमालेको जीवनकालमा यसले धेरै ठुलो नोक्सानी गर्यो ।

किन, विधान संशोधन गल्ती भएकै हो ?
हो, गल्ती भएकै हो । उमेर हद र दुई वर्षे कार्यकालमा एमाले टिकेर अगाडि बढेको भए अहिलेको स्थितिमा धेरै फरक आउने थियो । त्यस्तो अवस्थामा एउटा त जेनजी आन्दोलन नै हुने थिएन । हरेक कुराको कारण हुन्छ । विनाकारण कुनै पनि घटना हुँदैन । कारणहरू थपिँदै आएर जेनजी आन्दोलन भएको हो । महाधिवेशनमा नेतृत्वले बुद्धि नपु¥याए पनि कार्यकर्ताले बुद्धि पु¥याउन सक्नुपथ्र्यो । एउटा व्यक्तिको लागि सिस्टम बिगार्नु हुँदैन भन्ने कार्यकर्ता बहुमतमा भएको भए, एमालेको नेतृत्व नै फरक हुन्थ्यो । यो बिचको धेरै घटनाबाट बच्न सकिन्थ्यो । कम्युनिस्ट आन्दोलनलाई अझ उचाइका साथ अगाडि बढाउने स्थिति बन्थ्यो । र, कम्युनिस्ट पंक्ति निर्णायक शक्तिको रूपमा हुन्थ्यो । तर, नेतृत्वमा रहेको पदीय लोभलाई कार्यकर्ता पंक्तिले सच्याउन सकेन । उल्टै अन्धभक्त भएर समर्थन गर्ने काम हुँदा हामी आजको कठिन स्थिति भोग्न बाध्य छौँ ।

एमालेमा विद्यादेवी भण्डारीलाई रोक्ने काम पनि अध्यक्षमा ओली सुरक्षित हुनकै लागि थियो होइन त ?
विद्यादेवी भण्डारीले एउटा टेलिभिजन अन्तर्वार्तामा ‘म अध्यक्ष पदकै लागि प्रतिस्पर्धा गर्छु’ नभनेको भए सायद, उहाँको सदस्यता रोक्ने काम हुँदैन थियो । भण्डारीले त्यसरी बोलिसकेपछि ओलीलाई के प¥यो भने, अहिलेसम्म मेरो प्रतिस्पर्धी कोही देखिएकै छैन । मैसँग प्रतिस्पर्धा गर्ने कुरा गरेपछि सदस्यताबाटै किन वञ्चित नगर्ने भन्ने मनस्थिति बनाएर ओलीले भण्डारीको सदस्यता रोक्ने कुरा गर्नुभयो । जबकि, भण्डारीलाई पार्टीमा फर्किन न त संविधानले रोक्छ, न त पार्टीकै विधानले । पार्टीमा प्रतिस्पर्धामा आउनका लागि सबैलाई खुला छाडिदिनुपर्छ । तर, ओलीले पार्टीको लोकतान्त्रिकरणलाई नै अवरुद्ध गर्ने गरी विद्या भण्डारीको सदस्यता खारेज गरिदिनुभयो । यसको मूल्याङ्कन इतिहासले गर्छ ।

एमालेको नेतृत्वमा ओली नै अनुमोदित भएपछि अब आजीवन अध्यक्ष उहाँ नै हो भनेर बुझ्दा हुन्छ ?
हामीले त ११औँ महाधिवेशनमै केपी ओलीबाट अब एमाले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेर विकल्प खोजेका हौँ । त्यहीकारण महाधिवेशनमा ईश्वर पोखरेल कमरेडको नेतृत्वमा छुट्टै टिम बन्यो । त्यो टिमबाट म पनि उपमहासचिवको उम्मेदवार थिएँ । यद्यपि, हाम्रो टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै पदाधिकारीमा जित्नुभयो । केन्द्रीय कमिटीमा पनि हाम्रो टिमबाट जम्मा एक दर्जनजतिले मात्रै जित्नुभयो । अरू हामी सबै पराजित भयौँ । हाम्रो मुख्य ठम्याइ के थियो भने, केपी ओलीको नेतृत्वले अब एमाले अगाडि बढ्न सक्दैन । ११औँ महाधिवेशनबाटै यो कुरालाई सच्याउनुपर्छ भन्ने थियो । ओलीबाहेक अरू नेतृत्वमा आउँदा पार्टीले गति लिन्छ भन्ने हाम्रो बुझाइ हो । तर, महाधिवेशनमा हामी सफल भएनौँ । महाधिवेशनपछि पार्टी निर्वाचनमा गयो । एमालेले १० सिट पनि नजित्ने कुरा हामीले कल्पना पनि गरेका थिएनौँ । यसको मुख्य कारण भनेको नेतृत्व नै हो ।

ओलीले अध्यक्षबाट राजीनामा दिनुभएन भने के गर्नुहुन्छ ?
उहाँलाई बोकेर, अध्यक्ष मानेर एमालेले अब ‘सर्वाइव’ गर्दैन । पार्टीले विकल्प खोज्नैपर्छ ।
युवा मतदाता नयाँ दलप्रति किन आकर्षित भए ? मुख्य त, हामीप्रतिको अविश्वास भयो । हामीलाई ०७४ मा जनताले करिब दुई तिहाइ मत दिएका थिए । पार्टी ठुलो थियो । त्यस्तो स्थितिमा असंवैधानिक रूपमा दुई–दुई पटक संसद् विघटन गर्नु, पार्टी पनि जोगाउन नसक्नु, जनताको अपेक्षाअनुसार काम पनि नगर्नुले स्वाभाविक रूपमा पुराना दलबाट देशले गति लिँदैन भन्ने एक खालको भाष्य निर्माण भयो । र, युवाहरूमा पुराना दलहरूबाट अब चल्दैन भन्ने ‘माइन्ड सेट’ भयो ।

रास्वपालाई कसरी हेर्नुभएको छ ?
रास्वपाको परीक्षण हुनै बाँकी छ । उसको सिद्धान्त पनि थाहा छैन । लेफ्ट हो कि राइट हो भन्ने पनि थाहा छैन । समाजवादी हो कि पुँजीवादी भन्ने पनि थाहा छैन । रास्वपाले के गर्छ भन्ने कुरा पनि कसैलाई थाहा छैन । तर पनि मतदातामा के प¥यो भने पुरानाले गरेनन्, नयाँलाई एक पटक टेस्ट गरौँ । जसका कारण, एमाले मात्र होइन, कांग्रेस र नेकपालाई पनि भोट दिएनन् । मधेशवादी दलहरूलाई त झन् ‘क्लिनस्वीप’ नै गरिदिए । नयाँलाई राम्रो भनेर जनताले छानेका होइनन्, पुरानालाई नराम्रो भनेर खारेज गर्दा जनमत रास्वपामा गयो ।

अब फेरि एमाले माथि उठ्न सम्भव छ ?
सांगठनिक संरचनादेखि लिएर कार्यशैलीसम्म परिवर्तन गरेर हामी ‘राइज’ हुनुपर्छ । एमाले माक्र्सवादी, लेनिनवादी सिद्धान्त बोकेको, लाखौँ समर्थक, हजारौँ कार्यकर्ताको बलिदानी र धेरै लामो अनुभव बटुलेको पार्टी हो । सिद्धान्तअनुसार व्यवहार नभएकाले जनता रिसाएका हुन् । अब एमाले सच्चिएर अगाडि बढ्नुपर्छ ।

ओलीपछि एमालेको नेतृत्वमा को त ?
ओलीपछि एमालेमा यो हुनुपर्छ भनेर हामीले छलफल गरेका छैनौँ । दुई कार्यकाल अध्यक्ष बनिसकेपछि ओली तेस्रो कार्यकाल अध्यक्ष बन्नु हुँदैन थियो । ओली तेहेरिएर अध्यक्ष बन्नु नै गल्ती भयो । जो साथीहरूले तेस्रो पटक पनि अध्यक्ष बनाउने काम गर्नुभयो, उहाँहरूले पनि गल्ती गर्नुभयो । अब अध्यक्ष ओली र ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउनेहरू सच्चिनुपर्छ । सिंगो कम्युनिष्ट आन्दोलन बचाउनका लागि पनि ओलीले अध्यक्ष पद छोड्नुपर्छ ।

हिजो ओलीलाई अध्यक्ष बनाउन भूमिका खेल्नुभएका नेता तथा कार्यकर्ताको मनस्थिति पनि अहिले परिवर्तन भएको देखिन्छ । पहिलो कुरा ओलीले नेतृत्वबाट बिदा लिनुपर्छ, त्यसपछि कसलाई अध्यक्ष बनाउने भन्ने कुरा आउँछ । अध्यक्ष बन्ने योग्यताका एकसेएक नेता एमालेमा हुनुहुन्छ । सच्चिएर नयाँ नेतृत्वका साथ एमाले अगाडि बढ्नुपर्छ । त्यस्तो अवस्थामा पार्टीमा एक खालको उर्जा प्राप्त हुन्छ । त्यो उर्जाका साथ पार्टी अगाडि बढ्दा अब आउने स्थानीय तह र प्रदेशको निर्वाचनमा हामीले राम्रो रिजल्र्ट ल्याउन सक्छौँ । यसैमा अलमल गरिराख्ने हो भने, एमालेको ओरालो यात्रा कसैले पनि रोक्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्