
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्री मेहताको विज्ञ सल्लाहकारका रूपमा पठाउने निर्णय गरेको हो ।
चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेसा र प्राध्यापनमा सक्रिय डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुरमा प्राध्यापनरत छन् ।
उनी दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत भइसकेका छन् । यसका साथै उनले नेपाल चिकित्सक संघ, चितवन शाखाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय डा. प्रधानले पछिल्लो समय पार्टीको बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या विभागको संयोजकका रूपमा काम गर्दै आएका थिए ।











