Logo
Logo

अन्तरजातीय विवाहले लियो युवकको ज्यान, न्यायको माग गर्दै सांसदहरू धर्नामा


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले सिन्धुली प्रहरीको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणलाई लिएर सरकारको ध्यानाकर्षण गराएकी छन् । अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित ) युवाको शंकास्पद मृत्यु भएको विषयलाई लिएर रिमाले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले लेखेकी छन्, ‘एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित ) नागरिकको शंकास्पद मृत्यु ! न्याय देऊ सरकार !’

यहि वैशाख ७ गते साँझ सन्धुलीको खुर्काेटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा सुनकोसी गाउँपालिका–३ का २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको थियो । उनको शव ५ दिनदेखि अस्पतालमा छ । खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेका उनलाई बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँमा पक्रेर सिन्धुली पठाइएका विक हिरासतकै भेन्टिलेटरमा सर्टको पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै प्रहरीले तत्कालै अस्पताल पु¥याएको थियो । तर त्यही साँझ उनको मृत्यु भयो । विकले आत्महत्या गरेको दाबी गर्दै प्रहरीले शव लान आग्रह गरे पनि पीडित परिवारले घटना शंकास्पद देखिएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।

मृतक श्रीकृष्णकी आमा बिन्दामाया विकले आत्महत्या नभएर प्रहरीले नै कुटेर छोरा मारेको आरोप लगाएकी छन् । यसैबिच प्रहरी हिरासतमै दलित युवकको मृत्यु भएको भन्दै दलित समुदायका सांसदहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका छन् ।

घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिन माग गर्दै खगेन्द्र सुनारलगायत सांसदहरू बिहीबार रातिदेखि धर्नामा बसेका हुन् । साथमा सिन्धुलीबाट निर्वाचित सांसद पनि छन् । बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँगको छलफल गरेका उनीहरूले घटनाको वास्तविकता लुकाउन खोजिएको भन्दै रातिदेखि आन्दोलन थालेका हुन् ।

सुनारसहित रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा, आशिष गजुरेललगायत सांसद धर्नामा बसेका छन् ।
उनीहरूले सिन्धुलीका सीडीओ स्किम श्रेष्ठ, एसपी लालध्वज सुवेदी, खुर्कोट इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरदेखि डिउटी अधिकृतसम्मलाई तत्काल निलम्बन गरी छानबिन गर्न माग गरेका छन्।

सांसद सुनारले फेसबुकमा धर्नाको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रहरीको आन्तरिक उच्चस्तरीय (विज्ञ) छानबिन, संसदीय छानबिन समिति गठन, जाहेरवालालाई जातीय हिंसामा कारबाहीलगायत घटनाको सत्यतथ्य छानबिन नहुँदासम्म अहिलेकै मितिबाट मलगायत तपसिलका सांसदहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा अनिश्चितकालीन धर्ना सुरु ।’
यसअघि पीडित पक्षले निरन्तर दबाबका कार्यक्रम गरिरहेका थिए । सत्यतथ्य छानबिन गरी न्याय नपाएसम्म शव नबुझ्ने परिवारको अडान छ।

प्रतिक्रिया दिनुहोस्