
अमेरिकाको चर्चित म्यागेजिन टाइमले हालै विश्वका सर्वाधिक प्रभावशाली नेताहरुको सूची सार्वजनिक गर्दै सबैभन्दा माथि इशाई धर्मगुरु पोप लियो चौधौंको नाम उल्लेख गरिएको छ । उक्त सूचीमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोको नाम पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको नामभन्दा माथि राखिएको छ । न्युयोर्कका लोकप्रिय मेयर जोहरान ममदानीको नाम पनि त्यसमा छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ, जापानी प्रधानमन्त्री साने टाकाइची, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नाम पनि उक्त म्यागेजिनमा समावेश छ । सूचीमा दक्षिण एशियाबाट नेपालका प्रधानमन्त्री बालेन्द्र साह र बँगलादेशका प्रधानमन्त्री तारिख रहमान पनि समावेश छन् । यी दुवै आ आफ्नो देशको जेनजी विद्रोहपछि भएको चुनावमा सानदान जित निकालेर सरकारको नेतृत्वमा आएका हुन् ।
रोचक त यो छ कि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखि पाकिस्तानका कुनैपनि नेता टाइमको सर्वाधिक प्रभावशालीको सूचीमा परेनन् । बालेन प्रधानमन्त्री बन्नुअघि जति चर्चित थिए त्यसपछि उनी झन् चर्चित बने । टाइम म्यागेजिनमात्र नभई न्युयोर्क टाइम्स, बिबीसी, सीएनएन, अलजजिरालगायत विश्वका चर्चित मिडियाले चुनाव अघि देखि नै बालेन साहलाई प्रभावशाली देखाइरहेका थिए ।
बंगलादेशका तारिख रहमान पनि त्यसरी नै प्रभावशाली देखाइएका थिए । फरक यतिमात्र थियो कि बालेन राजनीतिक पृष्ठभूमिको परिवारबाट आएका होइनन् तर रहमान पारिवारिक विरासत बोकेका नेता हुन् । दुवैको सत्तारोहणअघि आ–आफ्नो देशमा भएका केही वर्षयताका घटनाहरुमा भने समानता देखिन्छ ।
दक्षिण एशियामा श्रीलंका, बंगलादेश र नेपालको युवा विद्रोहमा धेरै समानताहरु छन् । हिंसात्मक विद्रोह कतै केही महिना त कतै केही हप्ता भए । नेपालमा २४ घन्टामै सत्ता पल्टिएको थियो । विद्रोहबाट सरकारको नेतृत्वमा आएकाहरुको उदय लोकप्रियताको जगमै रह्यो । पुरानो दल र नेताहरु कि त देशबाट भागे कि त सत्ता राजनीतिबाट निकै पर धकेलिए । श्रीलंकामा राजापाक्षे र बंगलादेशमा शेख हसिनाको परिवारको एकछत्र राज अन्त भएको थियो ।
नेपालमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको सत्तामा आलोपालोको शृंखला अन्त भयो । परिवर्तनसँगै तत्कालका लागि क्षेत्रीय राजनीतिमा स्थिरता समेत देखिएको छ । तर, विश्व शक्तिका रुपमा देखिएका बलिया देशहरुको दक्षिण एशियामा सक्रियताबाट भविष्यमा अर्को अस्थिरताका घटनाहरु नहोला भन्न सकिँदैन ।
यस्ता घटनाहरु आन्तरिक द्वन्द्व या छिमेकसँगको टकरावको रुपमा प्रकट हुन सक्छन् । यसकारण भूराजनीतिक जोखिमका कारण नयाँ शक्तिका रुपमा उदाएका नेताहरुका लागि जति छिटो उचाई प्राप्त भएको छ त्यतिकै छिटो पतनको चुनौती पनि छ । भूराजनीतिक जोखिमको संयमित व्यवस्थापनमा हुनुपर्ने कूटनीतिक चार्तुयतामा विफल भए लोकप्रियताको जग टेकेर सत्तामा पुगेकाहरु अलोकप्रिय हुने सम्भावना जति हुन्छ, त्यति नै भर्खरै राजनीतिक विद्रोहबाट सत्ता परिवर्तन भएका देशहरु अस्थिरताको अर्को खाडलमा जाकिन सक्छन् ।
भूराजनीतिक जोखिम
राजनीतिमा कसले के भूमिका प्रदर्शन ग¥यो भन्दा पनि कसले कस्तो परिणाम दियो भन्ने महत्वपूर्ण हुन्छ । चिनियाँ नेता देङ स्याओ पिङले ‘बिरालो कालो होस् या सेतो मूसा मार्नुपर्छ’ भनेकै हुन् । नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दक्षिण र उत्तरको विशाल साम्राज्यको बीचमा रहेको नेपालको एकीकरण गर्नसक्नु कुशल कूटनीतिबाट प्राप्त परिणाम नै थियो ।
इतिहासले कलंकित बनाएको जङ्गबहादुर राणाले कूटनीतिक चार्तुयताबाट देशको सीमा बढाएका थिए । उनको चर्चा यूरोपसम्म थियो त्यतिबेला । जङ्गबहादुरले राजनीतिक र प्रशासनिक सुधारका धेरै कामहरु गर्न सकेका थिए ।
राजा महेन्द्रको कूटनीतिक चार्तुयताले नेपालले भौतिक पूर्वाधार र शिक्षाको क्षेत्रमा ठूलो फड्को मात्र मारेन भारत र चीन दुवै देशसँग भौतिक कनेक्टिभिटी पनि बढाएको थियो । २०४६ पछिको परिवर्तनले जन्माएका कति नेताहरु कूटनीतिक रुपमा चुके त कतिले चार्तुयता देखाएर देशलाई लाभ दिनसके । सत्ता र व्यवस्था परिवर्तनका नाममा देशमा भएका हिंसात्मक गतिविधिहरु आन्तरिक कारणले मात्र भएका थिएनन् बाह्य प्रभाव उत्तिकै थियो भन्ने पुष्टि भइसकेका छन् । भूराजनीतिक जोखिमको व्यवस्थापन गर्न नसक्दा देशले पटक पटक ठूलो संकटको भारी बोक्नुपरेको छ । त्यो चाहे माओवादी सशस्त्र गतिविधिका रुपमा होस् या जेनजी विद्रोहकै रुपमा किन नहोस् ।
हरेक घटनाले परिवर्तन ल्याएको छ । पुराना पात झरेका छन्, नयाँ पालुवा पलाउन थालेका छन् । अब नयाँ पालुवाको स्याहारसम्भार कसरी हुन्छ, त्यसले भविष्य कति हरियाली हुन्छ भन्ने कुराको संकेत गर्दछ । नबोल्ने स्टाटस बढी लेख्ने पात्रबाट प्रधानमन्त्रीको कुर्सीमा पुगेका बालेन साह अहिले लेख्न पनि छाडिसके । उनी आम नागरिकका लागि जति रहस्यमयी पात्र बनेका छन् उति नै सर्वाधिक आशा गरिएकामा पनि पर्छन् । घरेलु राजनीतिमा उनले पेलेरै जाने रणनीति लिएको केही घटनाहरुले देखाएको पनि छ । तर, उनले संवेदनशील भूगोलमा अवस्थित नेपालको राजनीतिमा देशको माटो बुझ्न जति जरुरी छ, उत्तिनै विश्व व्यवस्थामा आइरहने परिवर्तन र त्यसले पार्ने असरहरुको हेक्का राख्न उति नै जरुरी छ ।
विदेश सम्बन्ध र त्यसमा पनि छिमेक सम्बन्धहरु ठूलो असर पार्छ । त्यसमाथि नेपाल चीन र भारतको बीचमा अवस्थित छ । यी दुवै देश आणविक शक्ति सम्पन्न मात्र छैनन् विश्व व्यवस्थालाई हल्लाइदिने सामथ्र्य राख्छन् । सैन्य क्षमताको द्रुत विकास गरिरहेका छिमेकी भारत र चीन अमेरिकासहित पश्चिमा देशका लागि ठूलो चुनौती पनि हुन् । चीनको त नामै तोकेर अमेरिकी गुप्तचर निकाय सीआइए र बेलायती गुप्तचर निकाय एमआई सिक्सका प्रमुखहरुले संयुक्त लेखमार्फत् विश्व व्यवस्थाका लागि चुनौती बनेको प्रष्ट उल्लेख गरिसकेका छन् ।
हालैमात्र भारत र चीनलाई ‘नरक’ भनिएको माइकल साभेजको पोर्डकास्टको हिस्सालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २३ अप्रिलमा सामाजिक सञ्जालमा शेयर गरेर हंगामा मच्चाए । भारतलाई रुसी तेल किन्नबाट रोक्ने ट्रम्पको रणनीति खुलमखुल्ला देखिइसकेको छ । ब्रिक्सको बजन बढ्न नदिने गरी भारतलाई दबाबमा राख्ने अमेरिकी रणनीति अन्तर्गत दक्षिण एशियामा नयाँ नयाँ घटनाहरु विकास हुँदै आएका छन् । भारतका नजिकका छिमेकीहरु यसका लागि कार्ड बनाइन सक्छन् । यो हेक्का नराख्दा देश नै दुर्घटनामा पर्ने खतरा रहनसक्छ ।
बालेनको छिमेक नीति के ?
टाइममा प्रभावशाली नेताको सूचीमा अटाइएका बालेन साहलाई आफू मोदीभन्दा प्रभावशाली लाग्न सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा जीत निकाल्दा मोदीको बधाई ट्वीटमार्फत् आउँदा बालेनले ट्वीटमार्फत् धन्यवाद दिन २४ घन्टा लगाएका थिए । मोदी र बालेनबीच टेलिफोन कुराकानी पनि भयो । तर, त्यसपछि भारतीय पक्षसँग उनको सिधा कुराकानी भएको औपचारिक जानकारी आएन । परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन वार्ता मात्र भएको छ ।
सरकार बनेको एक महिना हुँदा भारतबाट कुनैपनि उच्च अधिकारीको भ्रमण भएको छैन न त यताबाट भारततर्फ भएको छ । बालेनलाई भारत भ्रमणको अनौपचारिक निम्तो आएको चर्चा छ । भारतका विदेश सचिव विक्रम मिश्रीले भारत भ्रमणमा रहेका नेपालका पत्रकारहरुसँग चाँडै नेपाल भ्रमण गर्ने सम्म भनेको खबर सार्वजनिक भएको छ ।
छिमेकी मित्रराष्ट्र भारत र चीनका अधिकारीहरुको औपचारिक भेटघाट प्रधानमन्त्री बालेन साहसँग अझै सम्म भएको छैन । प्रधानमन्त्री भएपछि बालेन्द्र साहले विदेशी अधिकारीहरुलाई सहज पहुँच नदिने कूटनीति प्रदर्शन गरेका छन् । उनले यसबीच विदेशी राजदूतहरुलाई सामूहिक रुपमा मात्र भेटेका छन् । त्यसबाहेक उनले कुनैपनि विदेशी अधिकारीलाई भेटेका छैनन् ।
विगतका प्रधानमन्त्रीहरुले छिमेकी मुलुकहरुका राजदूतहरुलाई अलग अलग नै भेट्दथे । तर बालेनले त्यसो गरेनन् । विगतका सबैजसो प्रधानमन्त्रीहरुले जस्तै उनले छिमेक मुलुकहरुबाट विदेश भ्रमणको सुरुवात गर्नेमा समेत आशंकाहरु छन् ।
अन्त्यमा,
माओवादी सशस्त्र गतिविधि हुँदै संविधानसभाको चुनावमा सफलता हासिल गरी प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । यसलाई त्यतिबेला विदेशनीतिमा क्रमभङ्ग नाम दिइयो । पछि प्रचण्ड आफैले बेइजिङ ओलम्पिकको उद्घाटनमा सहभागी हुन गएको भनेका थिए ।
उत्तेजित कदमहरु चाल्दै अघि बढेका प्रचण्ड सेनापति प्रकरणको घटनाले सत्तारोहरणको ९ महिनामै राजीनामा दिन पुगेका थिए । ७ महिना प्रधानमन्त्री बनेका झलनाथ खनालको त भारत भ्रमणको साइत नै जुरेन । केपी ओलीले भारतप्रति कठोर नीति लिएर राष्ट्रवादीको पहिचान त बनाउन सके तर पखेटा फैलाएर उड्ने कूटनीति भन्दा भन्दै राजनीतिक पतनको मार्ग तय गरे ।
भूगोल, इतिहास, संस्कृतिलाई भुलेर लोकप्रीयताको नाममा लगाम विनाको घोडारुपी असन्तुलित कूटनीति धेरै नेताहरुका लागि भारी सावित भएको छ । नेताले व्यक्तिगत लोकप्रीयताका नाममा विदेश सम्बन्धमा लहड र उत्तेजित कदम चाल्दाको मूल्य देश र जनताले विभिन्न कालखण्डमा चुकाउनुपरेको इतिहास साक्षी छ । बालेनले त्यही भुल गरेमा उनी जसरी द्रुत गतिमा उचाई लिदैछन् उति नै द्रुत गतिमा पातालमा पुग्न समय लाग्नेछैन ।











