काठमाडौं । अवकाशको तीन वर्षसम्म गुमनाम नभएका पूर्वएआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश गरेर सांसद बनेपछि एकाएक ‘भाइरल’ भएका छन् । आफ्नै कारण गुमनाम र भाइरल भएका पोखरेल कांग्रेस र एमालेको फेरो समातेर रकेट गतिमा एआइजी भएका थिए । तिनै पोखरेल अहिले रास्वपा निर्वाचित सांसद रहेका छन् । एमालेको कोटाबाट आइजीपी हुन नसकेपछि अवकाश पाएका पोखरेलले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर ओखलढुंगाबाट ४ मतले चुनाव जितेर सांसद बनेका हुन् ।

प्रहरी जीवनबाट अवकाश लिएर राजनीतिमा होमिएका उनले आफ्नो पुरानो पुलिस प्रवृत्तिलाई भने सांसद हुँदा छाडेनन् । पूर्वएआईजीसमेत रहेका पोखरेलले सांसदको पदीय मर्यादा भुलेर ओखलढुङ्गाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । उनले थर्काएको भिडियो सार्वजनिक मात्र भएन उनकै पार्टीका माननीयहरुले समेत सामाजिक सञ्जालमा विरोध गरेपछि माफी समेत मागे ।
आफूलाई ‘माननीय’ र ‘विशिष्ट श्रेणीको पूर्वकर्मचारी’ भन्दै उनले प्रधानाध्यापकलाई भने, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’ भनेर थर्कापछि विवादमा परेका छन् ।
सांसद पोखरेलले अहिले विद्यालयमा थर्काएका मात्र होइन, नेपाल प्रहरीको नेतृत्व तहमा रहँदाको उनको व्यवहारमा विवाद आएको थियो । प्रहरी संगठनभित्र नागरिकलाई थर्काउने र पदको दुरुपयोग गर्ने प्रवृत्ति बढेको थियो ।
आठ वर्षअघि व्यवसायी अनिल विश्वकर्मा (गजमेर)पक्राउ गरेर छाडेको विषयले अहिले पनि चर्चाको शिखरमा रहेको छ । व्यावसायिक लेनदेनको विषयलाई लिएर राधिका कटुवालले दिएको ‘मार्छु काट्छु’ भन्ने झुठो उजुरीका आधारमा प्रहरीले अनिललाई बारम्बार मानसिक सास्ती दिएको थियो । यतिमात्र होइन विदेश जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्ने एक मेडिकल व्यवशायीलाई थुनेर मुद्दा चलाएको विषय पनि चर्चा रहेको थियो । त्यतिहुँदा पनि तत्कालिन केपी शर्मा ओली र इश्वर पोखरेलले उनलाई काँधमा बोकेर एआइजी बढुवासम्म पुर्याएका थिए ।
विगत पनि विवाद
नेपाल प्रहरीमा हुँदा विश्वराज पोखरेलले आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिएनन् । सर्वोच्च अदालतमा गएर मुद्दा हारेपछि लाजले राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको थिएन । तत्कालीन आइजिपी धिरजप्रताप सिंहले राजीनामा स्वीकृत गर्दा मासिक पेन्सन रकममा ४÷५ हजार कम आउने भएकाले राजीनामा स्वीकृतिको प्रक्रिया रोकिदिएर उनको बिदा स्वीकृत गरिदिएका थिए ।
बिदामै भएको बेला २०७९ असार महिनामा विश्वराज पोखरेलले एआईजीको ५६ बर्षे उमेरहदको कारण अनिवार्य अवकाश पाएका हुन् । प्रहरी किताबखानाको रेकर्डमा उनले उमेरहदको कारण अनिवार्य अवकाश पाएको प्रष्ट देखिन्छ । पछिल्लो समय उनै पोखरेलले ईश्वर पोखरेल र चोलेन्द्रशम्शेर राणाको बुई चढेर उनी बढुवा भएका थिए ।
आइजीपी बन्न रोकिए पनि त्यसअघिको पोखरेलको यात्रा भने निकै रोचक मानिन्छ । २०७४ को निर्वाचनपछि झन्डै दुईतिहाईको बहुमत साथ बनेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार पोखरेलका लागि फलिफाप भएको थियो । विशेष गरी एमालेबाट आएका नेताहरूको पोखरेलप्रति ठूलै आशीर्वाद थियो । जसले पोखरेललाई २०७९ को निर्वाचनताकाको प्रहरीको आइजीपी बनाउन चाहेको थियो । पोखरेललाई डीआइजीदेखि एआइजीसम्मको बढुवामा निकै उछलकुद गराउँदै त्यस बेलाका नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पु¥याएका थिए । पोखरेलको त्यस बेलाको यात्रालाई प्रहरी अधिकारीहरूले ‘रकेट यात्रा’ भन्ने गरेका थिए ।
पूर्व एआइजी पोखरेल २०४९ चैत १२ गते प्रहरी निरीक्षक (ईन्सपेक्टर) पदबाट भर्ना हुँदा उनी आठौं नम्बरमा थिए । भर्ना हुँदा पछि आइजीपी नियुक्त गरिएका सिंह भने एक नम्बरमा थिए ।
त्यसपछि २०६२ साउन ११ गते प्रहरी नायब उपरीक्षक(डीएसपी)मा बढुवा हुँदा सिंह एक नम्बरमा हुँदा पोखरेल २४औँ नम्बरमा पुगेका थिए । त्यसपछि उनीहरूको समूहको २०६९ माघ ११ गते एसपीमा बढुवा भयो । बढुवामा पनि सिंह एक नम्बरमा रहँदा पोखरेल ७औँ नम्बरमा अटाएका थिए । २०७४ मा एसएसपी बढुवामा भने पोखरेलले सिंहलाई उछिनेका थिए । एसएसपीबाट बढुवा भएर प्रहरी नायब महानिरीक्षक(डीआइजी)मा पुग्दा भने पोखरेलको जम्प अर्थात् रकेट यात्रा शुरु भयो । २०७५ कात्तिक १० गते काभ्रेमा तत्कालीन डीआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएको थियो । भण्डारीको मृत्यु भएपछि रिक्त ठाउँमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ वैशाख १९ गते पोखरेललाई डीआईजीमा बढुवा गरेर नियुक्त गरेको थियो । पोखरेलले आफूभन्दा अघिल्लो ब्याजका एसएसपीहरूलाई नै पछि पार्न सफल भएका थिए ।
पोखरेलभन्दा अघिल्लो ब्याजका गणेश ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, वीरेन्द्र बस्याल र सौरभ राणा एसएसपी थिए । उनीहरूलाई पछाडि पारेर सरकारले पोखरलेललाई डीआइजी नियुक्त गरेको थियो ।
पोखरेललाई एसएसपीबाट डीआईजीमा एकल बढुवा गर्नका लागि तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे र तत्कालीन समयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले नेपाल प्रहरीका तत्कालीन आइजिपी सर्वोन्द्र खनाललाई निकै ठूलो दवाव दिएका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आइजीपी बनाउन थप कदम चाल्यो । २०७७ मंसिरमा पोखरेलकै लागि थप एक एआइजीको दरबन्दी सिर्जना गरेर पोखरेललाई बढुवा गरिएको थियो ।
आइजीपी बढुवा गर्ने बेला २०७९ वैशाखसम्म ओली सरकार ढलिसकेको थियो । ओलीको ठाउँमा देउवा प्रधानमन्त्री बनिसकेका थिए । देउवा नेतृत्वको सरकारले भने पोखरेललाई आइजिपी नबनाएर सिंहको बढुवा गरेर आइजिपी बनाएको थियो । त्यसपछि देउवा र डा.राणाविरुद्ध पोखरेल निरन्तर सार्वजनिक रुपमै आलोचना र गालीगलौजमा उत्रिएका छन् । अहिलेसम्म पनि डा.राणाका निकटका व्यक्तिहरूले आइजिपी बनाउन सात करोड माग गरेको भन्दै आएका छन् । सात करोड मागिएको थियो भने पोखरेलले पैसा माग गर्ने बिचौलियाहरूको नाम भन्न सकेका छैनन् ।











