Logo
Logo

ढिलो प्रवेश, तर बलियो उपस्थिति, सांगीतिक ब्रेकफेल पछि रानुको रफ्तार


रानु निरौला, गायिका

252
Shares

गायिका रानु निरौला छोटो समयमा नै सांगीतिक क्षेत्रमा स्थापित भइन् । ‘बेक्रफेल’ बोलको गीतमार्फत् गायनयात्रा सुरु गरेकी उनी पहिलो गीतबाटै लोकप्रिय बनिन् । श्रोता दर्शकले उनको गीतलाई धेरै मन पराए, माया पाइन् । उनको थप गीत ‘माया पिरती’, ‘रेलमै आगो लाग्यो’ जस्ता चर्चित गीतहरू आए । यी गीतहरू हिट पनि भए ।

करिब नौ वर्षदेखि गायनमा सङ्घर्षरत रानुले हालसम्म दर्जनौँ गीतमा स्वर दिइसकेकी छिन । छोटो समयमा नै दर्शक श्रोताले आफ्नो गीतलाई मन पराइदिएको उनी बताउँछिन् । अझैँ राम्रा–राम्रा गीतहरू गाएर दर्शक स्रोतामाझ आउने उनको चाहना छ । उनै गायिका रानु निरौलासँग रेजिना पाण्डेको जम्काभेट ।

यहाँको नौ वर्ष लामो सांगीतिक यात्रा कस्तो चलिरहेको छ ?

राम्रो भइरहको छ । गाउने यात्रा निरन्तर नै छ । खाली बस्नुपरेको भने छैन ।

संगीत क्षेत्रमा आउने रुचि कसरी जाग्यो ?

बाल्यकालमा भजनहरूका साथै, अरू गीतहरू पनि गाइरहन्थेँ । त्यतिबेला एउटा रहर मात्र थियो, संगीतमै लाग्छु, गाउँछु भन्ने चाहिँ थिएन । त्यही समयमा मेरो विवाह भयो । घर परिवार बाल बच्चामा नै रमाइरहेँ । समय अनुसार संगीतमा लाग्ने र गाउन सक्ने क्षमता छ म पनि यो सागीतिक क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने लाग्यो संगीतको अभ्यास गर्दै गायन क्षेत्रमा आएँ । नौ वर्ष देखि निरन्तर लागहरिको छु ।

अलि ढिला संगीत क्षेत्रमा आए जस्तो लाग्दैन ?

लाग्छ, अलि चाँडो भएको भए झन् राम्रो हुन्थ्यो । तर काम र पारिवारिक उत्तरदायित्व पनि हेर्नुप¥यो । ढिलै आए पनि सफलता नै मानेको छु ।

एउटा विवाहित महिलालाई घर, परिवार र बालबच्चा सबै मिलाएर काम गर्न गाह्रो छ हगी ?

हो, सबै हेर्नैपर्छ काम मात्र गरेर पनि भएन । घर, समाजमा महिलाहरूको अलग–अलग भूमिका हुन्छन् । त्यो सबै महत्वपूर्ण हुने गर्छ । बच्चा श्रीमान्, घर अनि काम सबै मिलाउनुपर्छ । कलाकारितामा मात्रै सफलता पाएर घरपरिवार लथालिङ्ग भयो भने के गर्ने ? अनि बच्चाहरू खुसी हुन सकेनन् भने त्यो आमाको के काम ? त्यसैले महिलाहरूलाई गाह्रो नै छ । समाज यही हो । कतै केही भयो भने पहिला महिलालाई नै दोष दिन्छन् । सबैलाई मिलाएर काम गर्न सहज भने छैन ।

पहिलो पटक गीत रेकर्डिङ गर्दाको अनुभव ?

मैले पहिलोपटक गीत रेकर्डिङ गर्दाको मिठो र उसाहजनक अनुभव रह्यो ‘ब्रेकफेल’ भन्ने लोकगीत तिलकजीसगँ गाएको थिएँ । पहिलोपटक यो गीत रेकर्ड गर्दा खुशीको सीमा नै रहेन ।

पहिलो पटक आफ्नो आवाज सुन्दा कस्तो लाग्यो ?

सुरुमा त डर लागेको थियो । के होला, कस्तो होला भन्ने उकुसमुकुस भइरहको थियो । तर गीत रेकर्ड भएपछि सबैले राम्रो लाग्यो भन्नुभयो । सबैले हौसला दिँदै संगीतिक क्षेत्रमा तिम्रो भविष्य राम्रो छ भनिदिँदा निकै हौसला मिलेको थियो ।

साधना गर्ने भन्दा भाइरल भएर आएका गायक गायिकाहरू अहिले धेरै हुनुहुन्छ । यसले केही फरक पारेको छ कि छैन ?

हुन त पछिल्लो समय भाइरल हुँदै नाम–दाम पनि राम्रै कमाइरहेका छन् । यो सामाजिक सञ्जालले दिएको अवसरलाई नराम्रो भन्न मिल्दैन । तर यो भनिरहँदा साधना गरेर आउनेहरू हराएको भनेर पनि भन्न मिल्दैन । सबैको आफ्नै उद्देश्य छ ।

साधना गर्ने र भाइरल भएर आएका गायक गायिकामा फरक के छ ?

फरक त भई नै हाल्छ । संगीतमा मात्र होइन हरेक क्षेत्रमा सिकेर बुझेर आउँदा काम दिगो हुन सक्छ । ढिला रिजल्ट आउँला तर सकारात्मक आउँछ ।

गीत संगीतमा लगानी गरेजस्तो प्रतिफल पाइन्छ ?

कर्म गर्दै छु र फल पनि पक्कै पाइन्छ । मलाई लाग्छ ढिलो चाँडो होला सकारात्मक कर्म गरिरहको छु, कर्मलाई निरन्तरता दिने प्रयास गर्छु । मरो कर्मले मलाई ढिलै भए पनि मेरो उद्देश्यसम्म पु¥याउँछ, मलाई विश्वास छ ।

गीत संगीतबाट के पाउनुहुन्छ ?

मन आनन्द छ । सन्तुष्ट छु । यही क्षेत्रलाई कर्मथलो पनि बनाएको छु । भगवानरुपी दर्शक स्रोताको हातमा मेरो भविष्य छ ।

तपाईँको घरमा धेरै कलाकार हुनुहुन्छ हैन ?

मलाई खुसी लाग्छ यो कुरामा । दिदी दिपा श्री निरौला यस चलिचित्र क्षेत्रको हस्ति नै हुनुहुन्छ भने छोरी जेशिका निरौला पनि अहिले यही क्षेत्रमा नै भाग्य खोजिरहेकी छिन् । म पनि सांगीतिक क्षेत्रमा आफनो कर्म गरिरहको छु ।

भविष्यको यो योजना के छ ?

एउटा गायकलाई राम्रो गीत गाउने रहर सधैँ लागिरहन्छ । मलाई पनि राम्रा राम्रा सगीतकारहरूसगँ काम गर्न रहर लागेको छ । चलचित्रहरू पनि गाउने रहर छ ।

प्रतिक्रिया दिनुहोस्