
एजेन्सी । रूसले युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युद्धविराम घोषणा गरेका हुन् ।
उनले विज्ञप्ति जारी गर्दै विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८–९ मा युद्धविराम घोषणा गरिएको जानकारी दिएका छन् । उनले युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेका छन् ।
किएभ प्रशासनले विश्व युद्धको विजय उत्सवको ८१ औँ वार्षिकोत्सवको कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले आपराधिक कार्याहरु गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्नेसमेत विज्ञप्तीमा उल्लेख गरिएकोे छ ।
साथै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले मे ५ देखि ६ को मध्यरातदेखि छुट्टै युद्धविराम सुरु गर्ने घोषणा गरेका छन् । यो समय अवधिमा मौन र शान्ति सुरक्षाको सुनिश्चित भएको अवस्था रहने उनले बताएका छन् ।
रूसमा मे ९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौं मानिसहरूको सम्झनामा विजय दिवस मनाउने गरिन्छ ।












