Logo
Logo

गगनको आरोप- प्रधानमन्त्री बालेन आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेलमा


504
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस का सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन विभिन्न जालझेल गरिरहेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: gagan-2.jpg

बुधबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री साहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउनकै उद्देश्यले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको जिकिर गरे ।

सभापति थापाले संसद अधिवेशन आह्वान गर्ने र बन्द गर्ने क्रमसमेत सरकारको योजनाबद्ध प्रपञ्च भएको आरोप लगाए । उनका अनुसार संवैधानिक परिषद्माथि नियन्त्रण कायम राख्न सरकारले अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेको हो ।

उनले प्रधानमन्त्री साहले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजेको कुरा आफ्नो पार्टीलाई स्वीकार्य नहुने चेतावनीसमेत दिए ।

उनले भने, ‘भोलि बेलुका ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा धारणा बनाएको छ । तर संवैधानिक परिषद्मा छलफल गरेर योग्य उम्मेदवार चयन गर्ने प्रक्रियाभन्दा पनि आफूले प्रस्ताव गरेको नाम जसरी पनि पारित गराउने तयारी भइरहेको देखिन्छ । प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री मिलेर बहुमतका आधारमा निर्णय गराउने प्रयास भइरहेको छ । आफूले खल्तीबाट झिकेको नाम प्रधानन्यायाधीश बनाउने प्रवृत्ति आपत्तिजनक छ । संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रणमा राख्न संसद आह्वान गर्ने, संसद अन्त्य गर्ने जस्ता सबै प्रपञ्च रचिएको छ । अघिल्लो प्रधानमन्त्रीले पनि यस्तै गर्न खोज्नुभएको थियो, त्यो बेला हामीले रोक्यौँ । अहिले अध्यादेश जारी भइसकेकाले रोक्न सकेनौँ । तर अहिले भइरहेको काम र विगतमा भएको प्रयासबीच कुनै फरक छैन । अघिल्लो प्रधानमन्त्रीले आफ्ना मान्छे नियुक्त गर्न जालझेल गर्नुभयो, अहिलेका प्रधानमन्त्रीले पनि त्यही गरिरहनुभएको छ । यसमा नेपाली काँग्रेसको स्पष्ट असहमति छ । हामीले यो विषय संसदमा पनि उठाउनेछौँ ।’

प्रधानमन्त्री साहले बिहीबार अपराह्न ५ बजेका लागि संवैधानिक परिषद् को बैठक बोलाएका छन् । सभापति थापाले उक्त बैठक प्रधानन्यायाधीश नियुक्तिलाई लक्षित गरेर बोलाइएको दाबी गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र संवैधानिक प्रक्रियाविपरीत भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्