Logo
Logo

विदेशमा रहेका चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन एनआरएनएको माग


315
Shares

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सकको लाईसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाएको छ ।  एनआरएनले सरकारलाई सो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

एनआरएनले मेडिकल काउन्सिलको सो निर्णय विदेशमा रहेका नेपालीहरूको दक्षता र लगानी मुलुकको समृद्धिका लागि उपयोग गर्ने नीति विपरीत रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको हो । नेपालको समृद्धिका लागि सहकार्य गर्ने एनआरएनएको अभियानमा समेत सो निर्णयले गम्भीर ठेस पु¥याएकाले सरकारलाई सो निर्णय तत्काल फिर्ता लिन अनुरोध गरिएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले बताए । उनले विश्वका विभिन्न भागमा रहेर नेपालको सेवामा समर्पित भएका कुनै पनि क्षेत्रका विज्ञहरूको भावनामाथि चोट पु¥याउन काम नगर्न पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सापकोटाले ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने काउन्सिलको निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागगत भविष्यमा मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा नकारात्मक प्रभाव पारेको बताए । संविधानले गैर आवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा मात्र पेशागत पहिचान खोस्नु न्यायोचित नभएको सङ्घको ठहर छ ।

प्रवक्ता सापकोटाकाअनुसार चिकित्सा पेसा जस्तो संवेदनशील क्षेत्रमा यस्तो कठोर निर्णय लिनुअघि सम्बन्धित पक्षसँग परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अपनाउनुपर्ने थियो । तर सम्बन्धित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्व जानकारी बिना नै गरिएको लाइसेन्स खारेजीको प्रक्रियाप्रति सङ्घले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्