Logo
Logo

क्रिकेटमा भविष्य खोज्दै अप्सरीः भन्छिन्– ’हारिनँ, बरु रेकर्ड तोडिदिएँ’


378
Shares

नेपाली क्रिकेटमा अहिले महिला खेलाडीहरूको ओइरो नै लागेको छ । बलिङ र ब्याटिङ दुवैमा महिलाहरूले आफूलाई अब्बल रुपमा प्रस्तुत गरिरहेका छन् । क्रिकेटमा रेकर्ड बनाउने र तोड्ने क्रम पनि उनीहरूले गरिरहका छन् । यतिबेला क्रिकेटलाई नै करियर बनाउँदै नेपालको जर्सी लगाएर देश चिनाउने सपना देखेका धैरै महिला खेलाडीहरू छन् ।

क्रिकेटमै भविष्य देखेर यसमै दिलोज्यान दिएर लागेका मध्येकी एक महिला क्रिकेट खेलाडी हुन्– अप्सरी बेगम । उनले आजसम्म नेशनल र इन्टरनेशनल गरी थुप्रै खेलमा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनै महिला क्रिकेट खेलाडी अप्सरी बेगमसँग रेजिना पाण्डेको जम्काभेट ।

क्रिकेटप्रति रुचि कसरी जाग्यो ?

म सानैदेखि अलि निडर स्वभावको थिएँ, खेल्ने दौड्ने मेरो सोख थियो । त्यतिबेला म लगभग नौ बर्षको जति थिए होला । विद्यालयबाट घर फर्कँदै गर्दा धैरै पटक दिदीहरूले ग्राउन्डमा क्रिकेट खेलेको देख्थेँ । मलाई आमाले भनिरहनुहुन्थ्यो– तिमीलाई पनि जे गर्न मन लाग्छ, त्यही गर । आमाले त्यसो भनेपछि मैलै पनि घरमा क्रिकेट खेल्न मन लागेको बताएँ । त्यसमा आमाले अनुमति दिएपछि क्रिकेटको व्याट समातेर विद्यालयस्तरदेखि नै खेल्न थालेकी हुँ । अन्डर–१९ माखेलेँ, सन् २०१९मा इन्टरनेशनलमा पनि छनौट भएँ, हङकङ टिमसँग डेव्यु गरेँ । आजसम्म इन्टरनेशनलमा दुवई हङकङ मलेसिया थाइल्यान्ड बंगलादेश जस्ता थुप्रै ठाउँमा दोहोरिएर पनि सहभागी भएको छु । यसबाहेक दर्जनौँ गेम खेलेकी छु ।

यसलाई खेल जीवनमा कति सफलता मान्नुहुन्छ ?

बाधाव्यवधानहरू नआएका होइनन्, धैरै सर्घष गर्नुपर्यो, गरिरहेकी छु । बीस वर्षदेखि आजसम्म यो क्षेत्रमा रमाउनुलाई नै मैले आफ्नो सफलताको रुपमा लिएको छु ।

नेपालको खेल क्षेत्रमा महिलाहरूको अवस्था कस्तो छ ?

खेलको विकास हुँदैछ । पहिलेको तुलनामा अवस्था राम्रो छ । तर यहाँ पनि राम्रालाई भन्दा हाम्रालाई अगाडि बढाउने कुरा लागू हुन्छ । बेला–बेलामा पुरुषभन्दा महिला खेलाडीलाई हौसला र समर्थन कम हुने गर्छ । धेरै महिला खेलाडीले घरायसी कारण बीचमै गेम छोड्छन् कि भन्ने डर पनि छ । उमेरसँगै महिला खेलाडीलाई लगानी गर्ने कि नगर्ने भन्ने दुबिधामा धैरै जना हुनुहुन्छ । धैरै महिलाहरू करियरको रुपमा भन्दा पनि खेलकुदलाई सोखको रुपमा मात्रै लिएको देखिन्छ । उमेर अनुसार त खेलिन्छ, तर उमेर ढल्केपछि महिलाको लागि आर्थिक उपार्जनको पाटो के हो त ? भन्ने प्रश्न पनि उत्तिकै छ ।

खेलकुद क्षेत्रमा महिलाका मुख्य चुनौतीहरू के–के हुन् ?

खेलकुद क्षेत्रमा महिला स्थापित हुन निकै गाह्रो छ । प्रश्नहरू धैरै उठ्छन् । खर्चदेखि ट्रेनिङ, खानपानदेखि सबै व्यवस्था प्राय सबै आफैँले नै गर्नुपर्ने हुन्छ । खेल्ने रहर भए पनि खर्च जुटाउन साह्रै गाह्रो हुन्छ ।

तपाईँ त मुस्लीम समुदायबाट आउनुभएको छ, तपाईँको समुदायलाई यस क्षेत्रमा आउन कति अफ्ठ्यारो छ ?

आर्थिक पाटोले त असहज बनायो । म सम्पन्न परिवारको छोरी नभए पनि बाबा–ममीको मन ठूलो थियो । उहाँहरूले नै तिमीलाई जे गर्न मन लाग्छ गर भनेपछि मलाई अरुबाट डर भने भएन । हाम्रो कास्टमा अलि चाँडो विवाह गर्ने चलन छ । घरभित्रै बस्ने छोरीहरू घरकै गहना हुन् भन्ने पनि गरिन्छ । अझै पनि छोरीहरूका लागि अनुकूल वातावरण छैन । तर पनि बाबा–ममीको सपोटले यहाँसम्म आइपुगेको छु ।

तपाईँ खेल क्षेत्रमा लाग्दा समाजको चाहिँ कस्तो–कस्तो व्यवहार सहनुपर्यो ?

भन्नेले धैरै कुरा भने होलान्, भनेनन् भनेर म भन्दिनँ । छोरीलाई कति सुबिधा दिएको, यति स्वतन्त्रता किन दिएको, यत्तिसम्म त गर्नुपर्दैन थियो होला, गेम खेल्न किन पठाएको ? जस्ता प्रश्नहरू नआएका होइनन् । अझै पनि विवाह गर्ने बेला भयो के खेल खेल्दै हिँडेकी, सीपमूलक काम नै गरेको भए हुन्थ्यो भन्नेहरु पाईलैपिच्छे नै भेटिरहन्छु । तर समाजले जे भने पनि आज राष्ट्रियस्तरको खेलाडी भएर चिनिन पाउँदा गर्व लाग्छ ।

अहिले हाम्रो कास्ट मुस्लीम समुदायबाट पनि धैरै ठूला ठाउँमा महिलाहरू पुगेर काम गरिराख्नुभएको छ । यो खुशीको कुरा पनि हो । काम गर्नलाई सबै भन्दा ठूलो कुरा परिवारको साथ चाहिन्छ । अब समाज पनि विस्तारै परिवर्तन हुँदैछ ।

तपार्इँ चाहिँ क्रिकेटमा बलिङ गर्नुहुन्छ कि ब्याटिङ ?

म ब्याटिङ नै गर्छु । मैलै ब्याटिङ गरेर एक सय नौ रनसम्म पुर्याएर रेकर्ड पनि तोडेको छु ।

क्रिकेटमा बलिङ गर्न सजिलो कि ब्याटिङ गर्न ?

बलिङ र ब्याटिङ खेलको अलग–अलग रुप हो । सहजताको हिसावले बलिङ गर्न अलि सहज हुन्छ, चान्स पनि पाईन्छ । तर ब्याटिङमा भने पाईँदैन ।

नेपालमा र विदेशमा खेलाडीहरू बीच के फरक छ ?

धैरै फरक छ, विदेशमा हरेक कुराहरूको सुबिधा छ । जस्तै एउटा गेम भयो र गेमको ट्रेनिङ लिनुपर्यो भने सबै एकजुट भएर एकै ठाउँमा सबै मिलेर ट्रेनिङ लिने–दिने गरिन्छ । खानपानको सबै व्यवस्था हुन्छ । गेमको समयसम्म सबै एकैसाथ हुन्छन् । तर हाम्रोमा त्यो सिस्टम भने छैन । आज ट्रेनिङ छ भने आजै गर्नुपर्ने बाध्यता छ । ट्रेनिङ सिध्याएर घर फर्कनुपर्दा आवतजावतमै समय बर्बाद हुने समस्या छ ।

क्रिकेट खेल र खेलाडीका लागि अहिले कस्तो अवस्था छ ?

पहिलेको भन्दा धैरै राम्रो छ । कतिले खेलसँगै राम्रै पैसा पनि कमाइरहनुभएको छ ।

अहिले धैरै महिलाहरू क्रिकेट खेलमा सहभागी हुन थालेका छन्, यसमा आकर्षण बढनुको मुख्य कारण के होला ?
एउटा चार्म र स्तरिय गेम पनि हो । खेलमा केही नयाँपन गर्न सकिन्छ, गर्न सक्यो भने यसबाट नाम–दाम पनि कमाउन सकिने भएर पनि हो जस्तो लाग्छ ।

कहिलेकाही खेल खेल्दाखेल्दै रिस उठेर कसैलाई ब्याटले हिर्काउनु भएको घटना छ ?

रिस उठ्छ । तर कन्ट्रोल गर्ने गरेको छु । रिस उठ्यो भन्दैमा ब्याट नै उठाएको भने छैन ।

हारेर पनि जितेको महशुस भएको कुनै गेमको सम्झना छ ?

छ, मलेशियामा भएको थियो । हामीले दुवईको टिमसँग खेलका थियौं । कारणबस त्यो गेम पानीको कारण हामीले हार्यौं । तर गेम भने उत्कृष्ट थियो ।

भविष्यको सोच के राख्नुभएको छ ?

मैले क्रिकेटकै लागि समय दिएर धेरै मिहेनत गरेँ । आगामी दिनमा पनि यही क्रिकेट खेल खेलीरहन पाउँ । यसैमा आबद्ध भएर अझै धेरै काम गर्ने इच्छा छ ।

प्रतिक्रिया दिनुहोस्