काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेको छ ।

प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् । ‘हजुर हाम्रो नायक पनि हो । तपाईँले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ उनले भने, ‘त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’
सरकारकै नीति तथा कार्यक्रम माथि छलफल भइरहेकाले प्रधानमन्त्रीको उपस्थिति यसअघि पनि माग राखिएको उनले सम्झिए । तर आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको बैठकमा पनि प्रधानमन्त्रीको अनुपस्थितिप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘हिजो बसेको प्रतिनिधिसभा बैठकमा हाम्रो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदनमार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो । प्रधानमन्त्रीको उपस्थिति खोज्नुभयो । तर आज पनि अवस्था उस्तै छ । सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन ।’














