Logo
Logo

सिईओ पाण्डे पक्राउबारे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्पष्टीकरण- कर्जा असुली प्रक्रिया कानुनसम्मत


0
Shares

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र सोसँग जोडिएको दायित्व भुक्तानीको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको छ । यस घटनाप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण प्रक्रिया कानुनसम्मत रहेको स्पष्ट पारेको छ।

बैंकका अनुसार स्मार्ट टेलिकमले बुझाउनुपर्ने घर बहाल र विद्युत महशुल भुक्तानी नभएको सम्बन्धमा भइरहेको अनुसन्धानमा बैंकले सुरुदेखि नै पूर्ण सहयोग गर्दै आएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकार प्रयोग गरी निक्षेपकर्ताको लगानी सुरक्षित गर्न कर्जा असुली निर्देशिका अनुसार नै लिलामी प्रक्रिया अगाडि बढाइएको बैंकको दाबी छ ।

स्मार्ट टेलिकमको उपकरण तथा सामग्री लिलामीबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ प्राप्त भएकोमा ४ अर्ब २२ करोड रुपैयाँ कर्जा चुक्ता गर्न प्रयोग गरिएको बैंकले जानकारी दिएको छ । बाँकी रहेको ३८ करोड रुपैयाँ भने घरजग्गा धनीहरूको बाँकी बहाल र विद्युत महशुल भुक्तानी गर्ने प्रयोजनकै लागि बैंकको लिलामी खातामा रोक्का राखिएको छ। सम्बन्धित निकायबाट आवश्यक प्रमाण र अनुरोध प्राप्त हुनासाथ उक्त रकम क्रमिक रूपमा भुक्तानी गरिने व्यहोरा बैंकले प्रष्ट पारेको छ ।

बैंकले यो अनुसन्धान प्रक्रियाले संस्थाको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन र निक्षेपकर्ताको हितमा कुनै पनि नकारात्मक असर नपर्ने भन्दै आफ्ना ग्राहक र सेयरधनीहरूलाई ढुक्क रहन आग्रह गरेको छ । साथै, आगामी दिनमा पनि अनुसन्धानका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्