काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे लाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति बैंकिङ क्षेत्रका चार छाता संगठनले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ ले संयुक्त विज्ञप्ति जारी गर्दै पाण्डेलाई थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार कर्जा असुलीका लागि बैंकहरूलाई विशेष अधिकार दिइएको उल्लेख गरिएको छ । साथै, कर्जा असुली गर्नु बैंकको नियमित प्रक्रिया तथा प्रमुख कार्यकारी अधिकृतको प्रमुख जिम्मेवारीभित्र पर्ने जनाइएको छ।
संघहरूले कर्जा असुलीकै प्रक्रियासँग सम्बन्धित विषयमा बैंक नेतृत्वलाई पक्राउ गर्नुले बैंकिङ क्षेत्रको साखमा नकारात्मक असर पर्न सक्ने तथा वित्तीय स्थायित्वमा समेत चुनौती उत्पन्न हुन सक्ने बताएका छन् ।
उनीहरूले ‘सुन अनि थुन’ को सिद्धान्त अवलम्बन गर्दै पाण्डेलाई यथाशीघ्र थुनामुक्त गरी अनुसन्धानलाई निष्पक्ष र व्यवस्थित ढंगले अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।














