
पुराना दलहरूको हैकमवादी कार्यशैलीबाट वाक्क बनेको नेपाली समाजले जब नयाँ विकल्प खोजिरहेका थिए, त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी युवाहरूमाझ लोकप्रिय थियो । अन्ततः फागुन २१ गते सम्पन्न निर्वाचनले रास्वपालाई वैकल्पिक राजनीतिक धारमा बलियोसँग उभ्यायो । राजनीतिक दलभन्दा बढी आशा बनेर उदाएको रास्वपाप्रति जनताको ठूलो भरोसा छ ।
भाषण होइन, व्यवहार बदल्ने वाचा गर्दै आएको त्यो शक्तिले जनतामा अब कम्तीमा पुराना दलजस्तो ढाँट्ने राजनीति गर्ने छैन भन्ने मनोवैज्ञानिक भरोसा जगाएको छ । दशकौँसम्म सत्ता र शक्तिको वरिपरि घुमिरहने नेताहरूको घिसेपिटे अनुहारबाट दिक्क बनेका नागरिकले रवि लामिछाने र उनका सांसदहरूमा नयाँ पुस्ताको प्रतिनिधित्व देख्न थालेका छन् ।
संसद्मा पुगेपछि रास्वपाका सांसदहरूले अरू दलमाथि जुन प्रकारले प्रश्न उठाएका छन्, त्यसले धेरैलाई अब संसद्मा कम्तीमा प्रश्न गर्ने, जवाफ माग्ने र जवाफ दिने संस्कार सुरु हुनेछ । तर, सत्ता बदलिँदा अनुहार मात्रै बदलियो । हिजो बुम देख्दा आफैँ अगाडि सरेर बोल्ने नेताहरू आज किन पत्रकार देख्दा तर्किएर हिँडिरहेका छन् ? किन सार्वजनिक प्रश्न सुन्नासाथ उनीहरूको अनुहारमा असहजता देखिन्छ ? किन क्यामेरा देख्दा आँखा झुक्छ ? आखिर के कुराले यिनीहरूभित्र यत्रो डर पैदा गरेको हो ?
अहिले रास्वपाका अधिकांश सांसदहरू क्यामेरा देखेपछि तर्सिन थालेका छन् । सायद, उनीहरूलाई केही नबोल्ने आदेश माथिबाट नै छ । विगतमा आफूले गरेका चटकहरू बारे प्रश्न सोधिने भयले पनि उनीहरू जनताको मुद्दा सार्वजनिक रूपमा उठाउन नसक्ने अवस्थामा देखिन्छन् । खासमा, राजनीतिमा सबैभन्दा खतरनाक कुरा भ्रष्टाचार मात्रै होइन, मौनता पनि हो । भ्रष्टाचार देखिन्छ, तर मौनता लुक्छ । भ्रष्टाचार प्रमाणित गर्न सकिन्छ, तर मौनताले जिम्मेवारीबाट भाग्ने बाटो बनाउँछ ।
आज देशमा कयौँ प्रश्नहरू उठिरहेका छन् । सहकारी प्रकरण, सुकुम्वासीको समस्या, सत्ता सञ्चालनको अपारदर्शिता, अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति, संसद्को निष्क्रियता, नियुक्तिमा मनपरी आदि सबै विषयमा जनताले जवाफ खोजिरहेका छन् । तर विडम्बना, दुईतिहाइको जनमत लिएर सत्तामा पुगेको दलका सांसदहरू सार्वजनिक रूपमा बोल्न समेत डराइरहेका छन् ।
आज जसरी रास्वपाका सांसदहरू पत्रकार देख्नासाथ बाटो मोडिरहेका छन्, त्यो दृश्य केवल व्यक्तिगत असहजता होइन, त्यो लोकतान्त्रिक संस्कारको संकट हो । अझ गम्भीर कुरा के छ भने, उनीहरू बोल्न नसकेको होइन, बोल्न नचाहेको देखिन्छ । किनकि बोल्दा प्रश्न थपिन्छ, प्रश्न थपिँदा जवाफ दिनुपर्छ र जवाफ दिँदा सत्तालाई असहज हुनसक्छ भन्ने त्रासले उनीहरूलाई तर्साउने गरेको छ ।
त्यसैले अहिले मौनतालाई रणनीति बनाइएको जस्तो देखिन्छ । तर राजनीति मौनताले चल्दैन । भर्खरै चुनाव सकिएको छ । पाँच वर्षको लामो समय अगाडि छ । जनताले एकपटक विश्वास गरेर बहुमत दिएका छन् । त्यो बहुमत कुनै दान होइन, जिम्मेवारी हो र त्यो जिम्मेवारी जबाफदेहीताका साथ निर्वाह गर्नुपर्छ भन्ने कुरो उनीहरूले बेलैमा बुझ्न जरुरी छ । आज रास्वपाका सांसदहरू जुन शैलीमा सार्वजनिक प्रश्नबाट भागिरहेका छन्, त्यसले जनतामा एउटा नकारात्मक सन्देश गइरहेको छ ।
अझ विडम्बना त के भने, हिजो संसद्मा उभिएर अरू दलका नेताहरूलाई जनताबाट भागेको आरोप लगाउनेहरू आज आफैँ अनुहार छोप्दै दौडिरहेका छन् । हिजो खुला र पारदर्शी राजनीतिको नारा दिनेहरू आज नियन्त्रित सूचनामा रमाइरहेका छन् । पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकार छनोट गर्ने, यथार्थ प्रश्न सोध्ने सञ्चारकर्मीलाई पूर्वाग्रही घोषणा गर्ने, सामाजिक सञ्जालमा आलोचना गर्नेहरू लाई दलाल भन्ने जस्ता प्रवृत्ति खतरनाक सङ्केतहरू हुन् ।
लोकतन्त्रमा आलोचनालाई शत्रुताको रूपमा नहेरेर सुधारको अवसरका रूपमा बुझ्नुपर्ने हुन्छ । तर सत्ता जब आलोचनाबाट डराउन थाल्छ, तब ऊ बिस्तारै निरङ्कुश हुँदै जान्छ र आफ्नो पतन आफैँ निम्त्याउन थाल्छ ।
संसद् लोकतन्त्रको मुटु हो । तर आज संसद्मा बहस होइन, ताला झुन्डिएको छ । जनताको मुद्दा र कानुनमाथि छलफल हुनुपर्ने ठाउँलाई ओझेल पारेर सरकार अध्यादेश ल्याएर शासन चलाउन व्यस्त छ । अध्यादेश असाधारण परिस्थिति समाधान गर्ने माध्यम हो, नियमित शासनको उपकरण होइन । दुई तिहाइ नजिकको जनमत भएको सरकारले संसद् छलेर अध्यादेशको बाटो समात्नु आफैँमा विरोधाभास हो । यदि जनमत यति शक्तिशाली छ भने संसद्बाटै किन निर्णय गर्न सकिँदैन ? कि बहुमत केवल चुनाव जित्नका लागि थियो, शासन सञ्चालनका लागि होइन ? राजनीतिमा सबैभन्दा ठूलो परीक्षा विपक्षमा हुँदा होइन, सत्तामा सुरु हुन्छ । विपक्षमा हुँदा सबै क्रान्तिकारी देखिन्छन् । सबैले सुशासनको गीत गाउँछन् । तर कुर्सीमा पुगेपछि असली चरित्र प्रकट हुन्छ । अहिले रास्वपामाथि पनि त्यही परीक्षा आइपरेको छ ।
जनताले हेर्दै छन्, यी साँच्चै फरक हुन् कि केवल नयाँ प्याकेजिङ भएका पुरानै प्रवृत्ति ? किनकि भाषणमा नैतिकता बेच्न सजिलो हुन्छ, व्यवहारमा देखाउन गाह्रो हुन्छ । अहिले जनताले भाषण होइन, व्यवहार हेरिरहेका छन् । जनताको प्रश्नबाट भागेर राजनीति टिक्दैन । पत्रकारसँग नबोलेर असन्तोष दबिँदैन । क्यामेरा छल्दैमा यथार्थ लुक्दैन । बरु मौनताले शंका बढाउँछ । लोकतन्त्रमा जनताको विश्वास सबैभन्दा ठूलो पूँजी हो । त्यो एकपटक गुम्यो भने फेरि चुनावी नाराले फर्काउन सकिँदैन । रास्वपाले अहिले बुझ्नुपर्ने कुरा यही हो ।
रास्वपाको प्रारम्भिक राजनीतिक रणनीति नै पुराना दल असफल भए, हामी फरक छौँ भन्ने भाष्यमा आधारित थियो । जतिबेला जनतामा चरम निराशा थियो । बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता र पुराना दलहरूको सत्ता–केन्द्रित व्यवहारले नागरिक आजित थिए, त्यस्तो अवस्थामा रास्वपाले आफूलाई विकल्पका रूपमा प्रस्तुत ग¥यो । सामाजिक सञ्जाल र मिडियाले पनि सुरुमा यो दललाई व्यापक स्थान दिए । तर समस्या त्यतिबेला देखिन थाल्यो, जब मिडियाले प्रशंसा मात्र होइन, प्रश्न पनि गर्न थाले ।
सहकारी प्रकरण, नागरिकता विवाद, पार्टीभित्रको असन्तुष्टि, सांसदहरूको कार्यक्षमता, आर्थिक पारदर्शिता, संगठनभित्रको शक्ति सन्तुलन लगायतका विषय उठेपछि रास्वपाको व्यवहार बदलिन थाल्यो । जसले प्रश्न ग¥यो, उसलाई दलाल, पुराना दलको एजेन्ट वा प्रायोजित पत्रकार भन्ने प्रवृत्ति बढ्यो । यसले रास्वपा अझै आलोचना सहन सक्ने लोकतान्त्रिक परिपक्वतामा पुगेको छैन भन्ने एउटा गम्भीर संकेत दिन्छ ।
रास्वपाले यदि साँच्चै आफूलाई नयाँ राजनीतिक शक्ति प्रमाणित गर्न चाहन्छ भने उसले सबैभन्दा पहिले आलोचना सुन्ने क्षमताको विकास गर्नुपर्छ । आलोचनकलाई शत्रु होइन, लोकतन्त्रको साझेदार मान्नुपर्छ । सांसदहरूले क्यामेरा देखेर भाग्ने होइन, तथ्यसहित उभिने साहस गर्नुपर्छ । गल्ती भएको छ भने स्वीकार गर्नुपर्छ । किनकि, गल्ती स्वीकार गर्ने नेता कमजोर होइन, परिपक्व मानिन्छ । अहिले रास्वपाको संकट केवल मिडियाबाट भाग्नु होइन, आत्मविश्वासको संकट हो ।
आज जनताले खोजेको कुरा गलत कदमको प्रतिरक्षा होइन, पारदर्शिता हो । भागाभाग होइन, संवाद हो । सत्ता भनेको सिंहासनमा बसेर आदेश दिने ठाउँ मात्रै होइन, जनताको कठघरामा उभिएर जवाफ दिने जिम्मेवारी पनि हो । पत्रकारको प्रश्नबाट भागे पनि अन्ततः इतिहासको प्रश्नबाट कहिल्यै भाग्न सकिँदैन । किनकि जनताले यसपटक पुराना दललाई अस्वीकार गरेका थिए । अब नयाँ दलले पनि उही घमन्ड दोहो¥यायो भने परिणाम झन् कठोर हुनेछ ।
लोकतन्त्रमा जनता अन्तिम निर्णायक शक्ति हुन् र जनता चुप लागे पनि सबै कुरा देखिरहेका हुन्छन् । आज मिडियाबाट भाग्ने सांसदहरू भोलि जनताको विश्वासबाट पनि टाढा हुन सक्छन् । लोकतन्त्रमा अन्तिम फैसला क्यामेराले होइन, नागरिकले गर्छन् । र नागरिकले अन्ततः त्यही नेतालाई टिकाउँछन्, जो प्रश्नको सामना गर्न सक्छ, आलोचनासँग जुध्न सक्छ, गल्ती स्वीकार गर्न सक्छ र पारदर्शितासहित जनतामाझ उभिन सक्छ । यदि रास्वपाले समयमै यो पाठ सिकेन भने नयाँ आशा भनेर उदाएको शक्ति पनि पुरानै राजनीतिक रोगको अर्को संस्करण बनेर सीमित हुने खतरा अस्वीकार गर्न सकिँदैन ।
लमही दाङ, हालः साउदी अरेबिया














