Logo
Logo

‘मैले जानेको भनेको गफ दिएर हँसाउने मात्र हो’


श्रेया सुुवेदी, स्ट्याण्डअप कमेडियन

378
Shares

नेपाली कला क्षेत्रमा यतिखेर ‘स्ट्याण्डअप कमेडी’को के्रज निकै छ । यस क्षेत्रमा आउने कमेडियनहरूको सहभागिता पनि तीव्र गतिले बढिरहेको छ । साथै, ‘स्ट्याण्डअप कमेडी’मा सहभागी हुने कलाकारको उपस्थितिले पनि यसको भविष्य दर्शाउँछ । ‘स्ट्याण्डअप कमेडियन’कै कुरा गर्दा झापाकी श्रेया सुुवेदीको नाम निकै चर्चित छ । उनको परिचय कमेडियनमा मात्रै सीमित छैन । उनले विज्ञापनमा समेत ‘मोडलिङ’ गर्ने गर्छिन् । टिकटक रिलमा उनलाई फलो गर्नेको संंख्या लाखौं छन् । उनै ‘स्ट्याण्डअप कमेडियन’ श्रेया सुुवेदीसँग रेजिना पाण्डेको जम्काभेटः

हाँस्य क्षेत्रमा तपाईँको यात्रा कसरी शुरु भयो ?

यो मेरो बाल्यकाल देखिको रुचि नभए पनि धैरै बोली रहने र हँसाउने मेरो स्वभाव थियो, प्लस टु पढ्दै गर्दा साथीहरूले मलाई कमेडी गर्न सिपालु रहेको भन्दै हौसला दिएपछि मैले कमेडी च्याम्पियन सिजन २ मा भाग लिएँ । त्यसमा म सातौँ स्थानसम्म पुगेकी थिएँ । धैरैले मेरो प्रस्तुतिलाई मन पराउनुभयो । त्यहाँबाट कामको अफरहरू आए, अनि काम गदै जाँदा अहिलेसम्म दर्शकलाई हँसाउने प्रयासमा जुटिरहको छु ।

हँसाउने काम कतिको गाह्रो छ ?

गाह्रो छ नि ! जति हसाउँदा पनि दर्शक हाँसिदिएनन् भने मिहेनत त्यसै खेर जान्छ । मनोवैज्ञानिक रुपमा दर्शकहरूको रुचि सबै बुझ्नैपर्छ । तर मलाई अरुलाई हँसाउनभन्दा त हाँस्नै सजिलोजस्तो लाग्छ ।

तपाईँले यही क्षेत्रमा अरु पनि विधा रोज्न सक्नुहुन्थ्यो, कमेडी नै पहिलो प्राथमिकतामा किन पर्यो ?

मैले अरु जान्दैन, जानेको भनेको गफ हो । यही गफ दिएर हँसाउने मात्र हो । त्यसैले मलाई गफ दिएर हँसाउन मन पर्छ ।

सोसल मिडियामा तपाईँको कन्टेन्टलाई लाखौँले मन पराएका छन्, यसलाई कसरी लिनुहुन्छ ?

भगवानरुपी मेरो दर्शकहरूले मेरो हाँस्य कन्टेन्टलाई धैरै रुचाउनुभएको छ । सोसल मिडियामा मेरो कन्टेन्टमा मिलियन भ्युजहरू आउछन् । यतिखेर उहाँहरूको मायाले नै मेरो काम चलिरहको छ भन्दा फरक पर्दैन ।

सोसल मिडियामा आएपछि लाइक कमेन्टले धैरै फरक पार्दो रहेछ ?

हो नि, सोसल मिडियामा आएपछि फरक पार्ने भनेकै लाइक र कमेन्टले हो । सोसल मिडिया हामी जस्ताको लागि राम्रो प्लेटफम हो । यसले म जस्ता धैरैको जिन्दगी बनाएको छ । दर्शकले हाम्रो कामलाई चासोको रुपमा हेरिदिनुभएको छ । त्यसैकारण हामीले आफ्नो कामलाई अघि बढाउन पाएका छौँ ।

सोसल मिडियामा आएका नकारात्मक कमेन्टलाई तपाईँले कसरी लिनुहुन्छ ?

आउछन् तर त्यस्ता कमेन्टप्रति म ध्यान चाहिँ दिन्न । मेरो कामको सुधार गर्नुपर्ने कुराहरु छन् भने म मनन् गर्छु ।

सोसल मिडिया प्रयोग गरेपछि दुवैलाई पचाउन सक्नुपर्छ होइन ?

हो, तर कसैको व्यक्तित्वमाथि नै हानी पुर्याउने गरी सोसल मिडियामै कमेन्ट गर्नु गलत हो । व्यक्तिगत जीवनमाथि नै औंला उठाउनु राम्रो होइन । कामको बारेमा राम्रो नराम्रो भन्न पाइन्छ ।

कतिको लागि यही सोसल मिडिया नै अभिशाप पनि भयो भन्छन् नि हैन ?

यही सोसल मिडियाले धैरैको जीवन बदलिदिएको छ । खुशी पनि ल्याएको छ । हामीजस्ताका लागि निकै राम्रो प्लेटफम पनि बनेको छ । सोसल मिडियालाई कसरी लिने भन्ने ज्ञान नहुँदा अभिशाप बनेको छ ।

कमेडी गरेर नै तपाईँको जीवन चलेको छ त ?

आज सम्म चलेको छ भन्नुपर्छ । म त यो क्षेत्रमा मात्र होइन, विज्ञापनहरूमा मोडलिङ पनि गर्छु । विभिन्न ब्रान्डसँग सहकार्य गरेर पनि काम गरिरहेकी छु ।

अहिले आर्थिक रुपमा हाँस्य कलाकारको अवस्था कस्तो छ ?

अवसर र भाग्य दुवै हुनुपर्छ । यो क्षेत्रमा काम गर्ने कतिले आर्थिक गुजारासम्म गर्न सकेका छैनन् । तर यो क्षेत्रमा राम्रो गर्न सक्नेले नाम, दाम र मान कमाएकै छन् । सबैको आफ्नो भाग्यमा भर पर्दछ ।

यो क्षेत्रमा महिलाको अवस्थाचाहिँ कस्तो छ ?

नेपालमा हास्ँय महिला कलाकारहरू खासै छैनन् भन्दा हुन्छ । ‘स्ट्याण्डअप कमेडियन’ र सोसल मिडियाबाट पनि राम्रै कमाई भएको मान्न सकिन्छ । राम्रो कमेडी कन्टेन्ट बनाएरलाखौँ भ्युजसहित नाम र दाम कमाउने पनि छन् ।

एउटा शोको लागि कति पारिश्रमिक लिनुहुन्छ ?

ठयाक्कै यति भन्ने छैन । शुरुमा १५०० सय लिएको थिएँ । अहिले भने बीस–पच्चीस हजारभन्दा माथि नै हुन्छ ।

एउटा शोको लागि कन्टेन्ट तयार गर्न कति समय लाग्छ ?

कम्तीमा तीन चार दिन लाग्छ । सोच्नुपर्छ, लेख्नुपर्यो, अभ्यास पनि गर्नुपर्योे । मिहेनत धैरै नै हुन्छ । समय सान्दर्भिक बनाउनुपर्छ ।

कस्तो खालको कन्टेन्ट प्राय दर्शकले मन पराउनुहुन्छ ?

समय सान्दर्भिक र समाजलाई नियाल्नेगरी बनाउनुपर्छ । दशर्कलाई हँसाउने काम त्यति सजिलो भने छैन ।

झापाली हुनुहुन्छ, झापालीहरू अलि गफाडी हुन्छन् भनिन्छ नि ?

हो म त्यस्तैमा पर्छु । थोरै बोल्दिन, धैरै बोल्नुपर्छ मलाई । तर बाठी भने छैन, लाटी नै छु । चोरी बठ्याइँ गर्दिनँ ।

भविष्यको योजना के बनाउनु भएको छ ?

भर्खर ब्याचलर सकाए अब मास्टर गर्ने योजनामा छु । यही हाँस्य विधालाई नै निरन्तरता दिने मेरो आगामी योजना छ ।

प्रतिक्रिया दिनुहोस्