काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र अवैध रूपमा निर्माण गरिएका सबै स्थायी तथा अस्थायी संरचना आगामी जेठ ९ गतेभित्र आफैँ हटाउन सार्वजनिक सूचना जारी गरेको छ । तोकेको समयसीमाभित्र संरचना नहटाए महानगरपालिकाले आफैँ डोजर चलाएर भत्काउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने चेतावनी दिएको छ ।

महानगरका अनुसार, वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भएर वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ को गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी विभिन्न भौतिक संरचना बनाइएका छन् ।
महानगरको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडेर निर्धारण गरेको सीमाभित्र पर्ने यी संरचना हटाउन लागिएको हो ।
महानगरपालिकाले २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा परेको थियो । तर, उच्च अदालतले महानगरको सूचनालाई सदर गर्दै उत्प्रेषण र परमादेश जारी गर्न नपर्ने फैसला गरेपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो ।
अदालतको आदेश र गत वैशाख ४ गते जारी सूचनालाई आधार बनाउँदै महानगरले यो अन्तिम सार्वजनिक सूचना जारी गरेको जनाएको छ । महानगरले २०८३ जेठ ९ गतेभित्र व्यक्ति वा संस्थालाई आफ्ना संरचना स्वतःस्फूर्त रूपमा हटाउन आग्रह गरेको छ ।















