काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गरेको आरोप लगाएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ८० वर्षको न्यायिक इतिहासमा पहिलोपटक वरियता मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइएको दाबी गरे ।
उनले यसले न्यायालयमा राजनीतिक हस्तक्षेप भएको भन्दै आफूहरूको दलले विगतमा न्यायपालिकामा राजनीति नगरेको स्पष्ट पार्नुभयो । साथै संसदीय सुनुवाइ समितिमा प्रक्रिया पूरा नगरी सत्तापक्षले नियुक्ति प्रक्रिया हतारमा अघि बढाएको टिप्पणी पनि गरे ।
पुनले भने, “हामीले न्यायालयमा राजनीति गरेका छैनौँ । अहिले वरियता मिचेर नियुक्ति गरिएको भन्ने आरोप छ । संसदीय सुनुवाइमा पनि निकै हतार गरिएको हो । हामीले प्रक्रिया पूरा गर्नुपर्ने माग गरेका थियौँ, तर सत्तापक्षले हतार गर्यो । हामीले शंकाको लाभ दियौँ ।”
उनले दुई तिहाइ नजिकको जनमतसहित आएको सरकारलाई शंकाको लाभ दिएर आफूहरूले नियुक्ति प्रक्रियामा समर्थन गरेको पनि बताए ।














