Logo
Logo

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, नेपालमा पनि प्रभाव पर्न सक्ने


0
Shares

काठमाडौँ । भारतमा पेट्रोल र डिजेलको मूल्यमा पुनः वृद्धि भएको छ। नयाँ मूल्य सूचीअनुसार दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ (भारु) पुगेको छ। यसै गरी डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारु कायम भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो। यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो भने त्यसअघि मे १५ मा पनि प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको थियो।

नेपालमा पर्न सक्छ प्रभाव
नेपालले पेट्रोलियम पदार्थ पूर्ण रूपमा भारतबाट आयात गर्दै आएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेललगायतका इन्धन खरिद गर्ने भएकाले भारतमा मूल्य घटबढ हुँदा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्छ।

नेपाल आयल निगम सञ्चालक समितिका एक सदस्यका अनुसार, भारतबाट आउने नयाँ खरिद मूल्यसूची (प्राइस लिस्ट) उच्च दरमा आएमा निगमको लागत बढ्नेछ। त्यस्तो अवस्थामा निगमले आफ्नो वित्तीय स्थिति हेरेर आन्तरिक बजारमा पनि पेट्रोल र डिजेलको मूल्य समायोजन गर्नुपर्ने हुन सक्छ। यद्यपि, अहिले नै मूल्य कति घटबढ हुन्छ भन्नेबारे यकिन गर्न नसकिने उनले बताए।

निगम सञ्चालक समितिले अन्तर्राष्ट्रिय बजारको अवस्थालाई हेरेर स्वचालित मूल्य प्रणाली अनुसार हरेक १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहेमा नेपालमा इन्धनको मूल्यमा दबाब बढ्ने देखिन्छ। यसैलाई मध्यनजर गर्दै इन्धनको खपत कम गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ।

भारतमा किन बढ्यो मूल्य?
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको उतारचढाव नै यो वृद्धिको मुख्य कारण हो। इरान र अमेरिकाबीच तनाव सुरु हुनुअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर आसपास रहेकोमा अहिले त्यो बढेर प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

कच्चा तेल महँगिएसँगै तेल कम्पनीहरू आर्थिक दबाबमा परेका थिए। त्यसैले आफ्नो घाटा पूर्ति गर्न कम्पनीहरूले मूल्य बढाएको बताइएको छ। यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रह्यो भने पेट्रोल र डिजेलको मूल्य थप बढ्न सक्ने सम्भावना रहन्छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको विनिमय दरका आधारमा इन्धनको मूल्य निर्धारण गरिन्छ। भारतका सरकारी तेल कम्पनीहरूले ‘डेली प्राइस रिभिजन’ अर्थात् ‘डाइनामिक प्राइसिङ सिस्टम’ अनुसार हरेक दिन बिहान ६ बजे नयाँ मूल्य सार्वजनिक गर्छन्। उपभोक्तासम्म पुग्नुअघि इन्धनमा विभिन्न कर र ढुवानी खर्च थपिने भएकाले यसको अन्तिम मूल्य आधार मूल्यभन्दा धेरै माथि पुग्ने गर्छ।

सन् २०२४ यता स्थिर थियो मूल्य
भारतमा मार्च २०२४ देखि पेट्रोल र डिजेलको मूल्य स्थिर रहेको थियो। लोकसभा निर्वाचन २०२४ अघि सरकारले प्रतिलिटर २ रुपैयाँ घटाएर उपभोक्तालाई राहत दिएको थियो।

अन्तर्राष्ट्रिय बजारको औसत १५ दिनको कच्चा तेलको मूल्यका आधारमा दैनिक मूल्य समायोजन गर्न सकिने व्यवस्था भए पनि भारतमा राजनीतिक संवेदनशीलताका कारण लामो समयसम्म मूल्य परिवर्तन गरिएको थिएन।

सरकारका अनुसार सरकारी स्वामित्वका तेल कम्पनीहरू— इन्डियन आयल, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि घाटामा चलिरहेका थिए। पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माका अनुसार पेट्रोल, डिजेल र एलपीजी बिक्रीमा कम्पनीहरूलाई मासिक करिब ३० हजार करोड भारतीय रुपैयाँ घाटा भइरहेको थाहा भएको छ।

यसअघि सरकारले पेट्रोल र डिजेलको मूल्य स्थिर राख्न विशेष एक्साइज ड्युटी (अन्तःशुल्क) प्रतिलिटर १०–१० रुपैयाँ घटाएको थियो। पेट्रोलमा १३ रुपैयाँ रहेको शुल्क ३ रुपैयाँमा झारिएको थियो भने डिजेलमा १० रुपैयाँ रहेको शुल्क शून्यमा ल्याइएको थियो। सरकारको यो कदमले पेट्रोल र डिजेलको मूल्य लामो समयसम्म स्थिर राख्न सहयोग पुगेको थियो।

यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबार तेलंगानामा आयोजित एक कार्यक्रममा पश्चिम एसियाको भू-राजनीतिक अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोग सावधानीपूर्वक गर्न सुझाव दिएका छन्। आयातित पेट्रोलियम पदार्थ आवश्यकताअनुसार मात्र प्रयोग गर्दा विदेशी मुद्रा सञ्चिति जोगिने र युद्धको नकारात्मक असर पनि कम हुने भन्दै उनले पेट्रोल, ग्यास र डिजेल संयमतापूर्वक प्रयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्